३० आश्विन २०८३, शुक्रबार

प्रचण्डसँग ओलीको भलाकुसारी, नेपालसँग हेराहेर मात्रै

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ मंसिर । एक–अर्काको अस्तित्व नै नस्विकार्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई कांग्रेस महाधिवेशनले लामो समयपछि एक ठाउँमा जुटाइदिएको छ ।

एमाले अध्यक्ष केपी ओली माओवादी अध्यक्ष प्रचण्डसँग एक वर्षपछि र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग पाँच महिनापछि एकै मञ्चमा भेट भएका हुन् । नेकपा विभाजनपछि पहिलोपटक भएको भेटमा ओली र प्रचण्डले छोटो प्रत्यक्ष संवाद गरे । ओली र नेपालको भेट भने हेराहेरमै सीमित बन्यो ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई बीचमा पारेर बायाँतिर ओली र दायाँतिर प्रचण्डको सिट व्यवस्थापन थियो । नेपालका लागि दायाँतिरै प्रचण्डपछिको दोस्रो कुर्सी थियो । उद्घाटन सत्र चलिरहँदा देउवा कहिले प्रचण्ड त कहिले ओलीतिर पटक–पटक गफिए । कार्यक्रमको मध्यान्तरपछि ओली–प्रचण्डबीच दुईपटक छोटो संवाद चलेको थियो ।

प्रचण्ड सम्बोधन सकाएर पोडियमबाट फर्किँदै गर्दा ओलीतिर फर्किएर मुस्कुराए । ओलीले जवाफी मुस्कानसहित ताली पिटेर प्रचण्डको सम्बोधनमा समर्थन रहेको सन्देश दिए । कुर्सीतिर लम्किँदै गर्दा प्रचण्डले बाटैमा ओलीसँग छोटो संवाद गरे, फर्वाडरले मिडफिल्डरको पास नचुकाएझैँ । दुई नेताको यो संवाद चल्दा अध्यक्ष नेपाल भने मन्तव्य सकेर मञ्चबाट बाहिरिसकेका थिए ।

प्रचण्डको सम्बोधनलगत्तै ओलीको सम्बोधन सुरु भयो । प्रचण्डले उनलाई सुने । सम्बोधनको अन्त्यतिर माइक बन्द भएपछि ओली मञ्चतिर फर्किँदै गर्दा प्रचण्ड देउवासँग बिदा हुने तरखरमा लागे । ओली कुर्सीतिर लम्किँदै गर्दा ‘देउवा’लाई क्रस गरेर प्रचण्डसँग दोस्रोपटक भलाकुसारी गरे । प्रचण्डले कार्यक्रमबाट बिदा हुँदै गर्दा देउवालाई नमस्कार गरे । प्रचण्डलाई ओलीले पनि हात उठाउँदै नमस्कार गरे । लगत्तै प्रचण्डले पनि जवाफमा हात फर्काए ।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका लागि पनि कांग्रेसको मञ्च मन माझ्ने थलो बन्यो । उनीहरूबीच पटक–पटक संवाद चल्यो । ठाकुर र यादवबीच पनि एउटै मञ्चमा पहिलोपटक भेट जुरेको थियो । उनीहरू दुवैजनाका लागि मञ्चको पहिलो लहरमा सँगै बस्ने व्यवस्था गरिएको थियो, आजको नयाँ पत्रिका दैनिकमा सुरोजंग पाण्डेले समाचार लेखेका छन् ।