३० आश्विन २०८३, शुक्रबार

प्रचण्ड एक वर्षपछि र नेपाल पाँच महिनापछि ओलीसँग एउटै मञ्चमा देखिने

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल फोटो

काठमाडौं, २३ मंसिर । कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने–सामुन्ने बसाउने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले २४ मंसिरमा १४औं महाधिवेशनको भृकुटीमण्डपमा दिउँसो १ बजे उद्घाटन गर्दै छन् । यो मञ्चले पार्टी फुटपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका ठूला कम्युनिस्ट पार्टीका प्रमुख नेताहरूलाई पनि आमुन्ने सामुन्ने बसाउने भएको हो ।

कांग्रेसले महाधिवेशनको ब्यानरमा ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ नारा राखेको छ ।

नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिस्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् ।

विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।

उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल सहभागी हुने निश्चित भएको छ । ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन, आजको नयाँ पत्रिका दैनिकमा सुरोजंग पाण्डेले समाचार लेखेका छन् ।