मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कांग्रेस महाधिवेशन : उधारोमा प्रधानमन्त्री-राष्ट्रपति, नगदमा सभापति

दैनिक नेपाल २०७८ मंसिर २२ गते ७:५६

काठमाडौं, २२ मंसिर । कांग्रेस सभापतिमा शेरबहादुर देउवाको प्रतिस्पर्धी को ? महाधिवेशन ढोकामै आइपुग्दा पनि अनिश्चय उस्तै छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले ‘ससर्त’ दाबी छाडेका छन् । तर, शेखर कोइराला र प्रकाशमान सिंहबीच सहमति नभएसम्म पौडेल मिलनबिन्दु बन्ने सम्भावना पनि उत्तिकै बलियो छ ।

मंगलबार साँझसम्म सिंह–निवास चाक्सीबारीमा भएको बैठकमा देउवाविरुद्ध एक जना मात्र उम्मेदवार नभएमा हार निश्चित हुनेमा सबै सहमत भएका छन् । तर, त्यो उम्मेदवार को हुने भन्ने निष्कर्ष भने बैठकले निकाल्न सकेन ।

वरिष्ठ नेता पौडेल र महामन्त्री शशांकले देउवाको प्रतिस्पर्धामा कोही एक जना मात्रै अघि बढ्ने भएमा आफूहरू पछि सर्ने प्रस्ताव सुनाएका छन् । ‘तपाईंहरू दुई जना (प्रकाशमान र शेखर) ले सहमति गरेर एक जना मात्रै आउनुहुन्छ भने मेरो आपत्ति छैन तर तपाईंहरूबीच सहमति हुँदैन भने मेरो नेतृत्वमा सबै अटाउनुहुन्छ, मलाई स्वीकार गर्नुहोस्,’ पौडेलको भनाइ उद्धृत गर्दै नेता रामकृष्ण यादवले भने ।

शशांकले पनि देउवासँगको प्रतिस्पर्धामा जित्न सक्ने आफू मात्र भएको दाबी गर्दै सहमतिका लागि भने बाधक नहुने बताएका थिए । ‘बलियो उम्मेदवार म हो भन्नेमा शंका छैन तर धेरै उम्मेदवार उठ्दा हारिन्छ, एकमात्र उठ्ने हो भने म जसलाई पनि सहयोग गर्छु,’ उनको भनाइ थियो । अब दुईमध्ये एकले दाबी छाड्ने कि पौडेललाई स्वीकार गर्ने भन्ने निर्णायक बिन्दुमा दुई नेता परेका छन् ।

मंगलबार सामूहिक बैठक सकिएपछि चार आकांक्षी र केही नेताबीच छुट्टै छलफलसमेत भएको थियो । उनीहरूबीच राज्यका मुख्य पदहरू (राष्ट्रपति र प्रधानमन्त्री) को बाँडफाँट गरेर नेता व्यवस्थापन गर्नेसम्मका विषयमा छलफल भएका छन् ।

शेखर र प्रकाशमान दुवैले एक व्यक्ति एक पदको अवधारणा अघि सारेका छन् । दुवैले प्रधानमन्त्री र राष्ट्रपति पदमध्ये एकमा पौडेललाई व्यवस्थापन गर्न सकिने प्रस्ताव गर्दै आएका छन् । शेखरले आफू पार्टी सभापति भए प्रधानमन्त्री नबन्ने घोषणा सार्वजनिक रूपमै गरेका छन् ।

‘व्यवस्थापन गर्न समस्या छैन । पौडेललाई प्रधानमन्त्री र प्रकाशमानलाई राष्ट्रपति बनाउने र शशांकलाई भावी सभापति बनाउने गरी व्यवस्थापन गर्न पनि सकिन्छ,’ उनीनिकट एक केन्द्रीय सदस्यले भने, आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित