शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

दुई सयभन्दा बढी नेपाली चलचित्रको अस्तित्व संकटमा

कहाँ छ ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभ ?

दैनिक नेपाल २०७८ मंसिर २२ गते ७:४४

काठमाडौं, २२ मंसिर । सम्बन्धित चलचित्रको नेगेटिभलाई राम्ररी भण्डारण गर्न नसक्दा २०३० देखि २०६० सालसम्मका २ सयभन्दा बढी चलचित्रको भौतिक अस्तित्व अहिले संकटमा छ ।

ती चलचित्रको त्यतिबेला बनाएको प्रिन्ट बिग्रिसकेका छन् । नयाँ प्रिन्ट बनाउन ती नेगेटिभ सही रूपमा चाहिने भएको छ । यही समस्यालाई मध्यनजर राख्दै निर्माता निर्देशक यादव खरेलले आफ्ना दुई चलचित्र ‘प्रेमपिण्ड’ र ‘आदिकवि भानुभक्त’को नेगेटिभलाई युनिभर्सिटी अफ लस एन्जल्स क्यालिफोर्निया, अमेरिकामा राखेका छन् ।

विश्वका महत्वपूर्ण सिनेमा राखिएको यो विश्वविद्यालयबाट यी दुई चलचित्रलाई कुनै पनि समय डिजिटलमा प्रिन्ट निकालेर पुनः प्रदर्शन गर्न सकिनेमा अब निर्माता निर्देशक खरेल ढुक्क छन् ।

यस्तै, निर्माता निर्देशक तुलसी घिमिरेले पनि नेगेटिभमा बनेका आफ्ना आधा दर्जन चलचित्रलाई डिजिटलमा ढालेर त्यसको नेगेटिभलाई मुम्बईमा सुरक्षित राखेका छन् । उनले कोसेली, दुई थोपा आँसु, रहर, साइत, दर्पण छाया, दुई किनाराजस्ता चलचित्रलाई भौतिक रूपमा अहिलेको प्रविधिमा सुरक्षित गरेका छन् ।

अब घिमिरेसँग आफ्ना यी आधा दर्जन सिनेमाको गुणस्तर युक्त प्रिन्ट डिजिटलमा रहेको छ । यो फिल्म उनले कुनै पनि समय अहिलेको गुणस्तरमा हल तथा अन्यत्र रिलिज गर्न सक्छन् ।

यस तर्फ अरूले ध्यान पु¥याउन सकेका छैनन् । सोही कारण २०६० सालभन्दा अघि निजी क्षेत्रबाट निर्माण भएका २ सयभन्दा बढी चलचित्रको अस्तित्व अहिले संकटमा छ । ती चलचित्रका नेगेटिभ रिल अहिले सुरक्षित अवस्थामा छैनन् ।

अब पनि सुरक्षित गर्न सकिएन भने चाँडै ती फिल्मको भौतिक अस्तित्व मेटिनेमा चलचित्र निर्देशक यादव खरेल चिन्तित छन्, आजको राजधानी दैनिकमा डब्बु क्षेत्रीले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित