काठमाडौं, २२ मंसिर । एमालेलाई आसन्न राष्ट्रियसभा निर्वाचनमा आफ्नो सीट सुरक्षित गर्न कठिन हुने देखिएको छ ।
६ वटा प्रदेशमा सत्ता गठबन्धनभन्दा एमालेको मतभारमा धेरै कम छ । प्रदेश १ मा भने एमाले झिनो मतभारले अगाडि छ । त्यहाँ पनि अन्य साना दलले गठवन्धनलाई साथ दिए एमाले कमजोर बन्ने देखिन्छ ।
कांग्रेस, माओवादी, जसपा, एकीकृत समाजवादी र जनमोर्चाले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन गरेरै अघि बढ्ने निर्णय गरिसकेका छन् ।
राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबाट बाहिरिँदै छन् । जसमा एमालेका आठ, माओवादी र एकीकृत समाजवादीका चार÷चार, कांग्रेसका तीन र मनोनीत एक सांसद छन् ।
सत्तागठबन्धन एकैठाउँ हुँदा एमालेले कम्तीमा पाँच सीट गुमाउने सम्भावना छ । रिक्त हुन गइरहेका एक मनोनीतबाहेक १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ ।
सोहीअनुसार १२ माघका लागि निर्वाचनको मिति तोकिइसकेको छ । राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार भने १८ हुन्छ, आजको नयाँ पत्रिका दैनिकमा किरण दहालले समाचार लेखेका छन् ।