![]()
काठमाडौं, २१ मंसिर । कांग्रेसको महाधिवेशन शुरू हुन चार दिन मात्रै बाँकी रहँदा पनि संस्थापन र इतरपक्षले उम्मेदवारीका लागि आ–आफ्नो समूह बनाउन सकेका छैनन् ।
संस्थापनमा सभापति शेरबहादुर देउवा नै अघि सर्ने निश्चित भए पनि अन्य पदमा क–कसलाई समेट्ने टुंगो लागेको छैन । संस्थापनइतरबाट सभापतिकै उम्मेदवार को बन्ने भन्ने निर्क्योल भएको छैन ।
समूह बनाउन सोमबारदेखि निर्णायक गृहकार्य थालेका सभापति देउवाले नेता कृष्णप्रसाद सिटौला समूहसँग समीकरण बनाउन खोजेका छन् । प्रदेश १ र झापा जिल्ला अधिवेशनमा देउवा–सिटौला गठबन्धन सफल बनेको छ । ६ वटा प्रदेशमा भएको अधिवेशनमा देउवा–सिटौलाका चार र रामचन्द्र पौडेल पक्षका दुई सभापति छानिएका छन् ।
महाधिवेशनमा बाँकी समूह एक भए आफूमाथि जोखिम बढ्ने बुझाइमा देउवाले सिटौलासँग महाधिवेशनमा पनि सहकार्य गर्न चाहेका हुन् । देउवाले उपसभापति विमलेन्द्र निधि अलग्गिएपछि क्षतिपूर्तिका लागि सिटौलालाई आफ्नो टिमबाट उपसभापतिमा अघि सार्न चाहेका छन् ।
विभिन्न पदाधिकारीमा आफ्नै विश्वासपात्रलाई अलग्याएर सिटौला समूहलाई अटाउन देउवाका लागि सहज भने छैन । मधेसको भावना र टिमका आकांक्षीको व्यवस्थापन गरेर अघि बढ्न उनलाई चुनौती नै रहेको नेता रमेश लेखक बताउँछन् । ‘अर्को पक्षलाई टाउको मिलाउनै समस्या छ, संस्थापन पक्षलाई अंग मिलाउन समस्या हो,’ लेखकले भने, आजको कान्तिपुर दैनिकमा कुलचन्द्र न्यौपानेले समाचार लेखेका छन् ।















प्रतिक्रिया