
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस गण्डकी प्रदेशको सभापतिमा संस्थापनइतरका शुक्रराज शर्मा विजयी भएका छन् ।
हिजो भएको निर्वाचनको मत परिणामअनुसार संस्थापन समूहका उपसभापतिबाहेक पौडेल समूहको प्यानल नै विजयी भएको हो । संस्थापनका पर्वतका अर्जुन जोशीलाई पराजित गर्दै कास्कीका नेता शर्माले गण्डकी प्रदेशको सभापतिमा विजयी हासिल गरेका हुन् ।
संस्थापनका जोशीले ५२८ मत ल्याउँदा शर्माले ६१२ मत ल्याउँदै विजयी भएका हुन् । १ हजार १६५ जना प्रतिनिधिमध्ये १ हजार १४६ मत खसेको थियो ।
त्यसैगरी उपसभापतिमा पौडेल समूहबाट स्याङ्जाकी कल्पना तिवारी र संस्थापन प्यानलबाट मेखलाल श्रेष्ठले विजयी हासिल गरेका छन् । तिवारीले ६२४ र मेखलाल श्रेष्ठले ५५६ मत ल्याएका छन् । तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् । संस्थापनबाट म्याग्दीका नेत्र महत र पौडेल पक्षका बागलुङका हरिप्रसाद श्रेष्ठ उपसभापतिमा पराजित भए ।
महामन्त्रीमा पौडेल समूहका गोेरखाका किरणबाबु श्रेष्ठले ५७३ शीर्ष मत ल्याउँदै विजयी भए भने सोही समूहबाट ५६७ मत ल्याउँदै विष्ण लामिछानेले जिते हासिल गरेका छन् । लामिछाने गण्डकी प्रदेश सभा विधायन समिति सभापतिसमेत हुन् भने श्रेष्ठ गोरखाका पूर्व जिल्ला सचिव हुन् ।
संस्थापन पक्षबाट कास्कीका कुमार खड्का र गोरखाका ईश्वर पाण्डे पराजित भएका छन् । गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्रीसमेत रहेका खड्का ११ मतले विजयी महामन्त्री लामिछानेसँग पछि परे । पाण्डे गोरखाको भिमसेन थाापा गाउँपालिका अध्यक्ष हुन् ।
सहमहामन्त्रीमा दुबै जना पौडेल समूहका उम्मेदवार विजयी भएका छन् । लमजुङका रमेशकुमार पाण्डेले ६१८, पर्वतका रामचन्द्र जोशीले ५६९ मत ल्याउँदै जीत हात पारेका छन् । पाण्डे लमजुङको मध्य नेपाल र जोशी कुश्मा नगरपालिकाका मेयर हुन् । संस्थापन समूहबाट गोरखाका राजनराज पन्त, तनहुँका झुलबहादुर आले उम्मेदवार थिए । पन्त गोरखा नगरपालिकाका मेयर हुन् ।
गोरखाका युवराज बस्ताकोटी र गणेश सापकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका थिए ।
महिला सहमहामन्त्रीमा पौडेल समूहकै कास्कीकी कोपिला रानाभाट विजयी भएकी छन् । गण्डकी प्रदेश सभा सदस्य तथा कांग्रेस संसदीय दलकी सचेतकसमेत रहेकी गौतमले ५२४ मत ल्याउँदा रानाभाटले ५५२ मत ल्याएकी छन् ।















प्रतिक्रिया