
काठमाडौं, १८ मंसिर । सिंगो न्यायक्षेत्रले पद त्याग्न दबाब दिँदा पनि अस्वीकार गर्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई अब महाभियोगबाटै हटाउनुपर्ने आवाज सांसदहरूले नै उठाएका छन् ।
न्यायिक क्षेत्रसँगै सम्बद्ध राष्ट्रियसभा सदस्यहरू राधेश्याम अधिकारी र रामनारायण बिडारीले जबरालाई महाभियोगबाटै पदच्युत गर्नुपर्ने बताएका हुन् ।
सर्वोच्च बारले शुक्रबार बारकै प्रांगणमा गरेको ‘न्यायपालिका सुधार : सम्भावना र चुनौती’ विषयक छलफलमा बिडारीले महाभियोगका लागि संसद्मा गृहकार्य भइरहेकोसमेत बताए । ‘यो विषय अब संसद्मा छिटै नै प्रवेश गर्छ । दलहरू आफ्नो काम गरिरहेका छन् । एक हप्तापछि यो काम हुन्छ । भविष्यमा राज्यको कुनै पनि सेवा प्राप्त नहुने गरी, कालोसूचीमा पर्ने गरी, अख्तियारले मुद्दा चलाई छानबिन गर्न सक्ने गरी खत्तम गर्न प्रतिनिधिसभामा होमवर्क भइरहेको छ,’ उनले भने ।
प्रतिनिधिसभाका एकचौथाइ सांसदले प्रधानन्यायाधीशविरुद्ध महाभियोग दर्ता गर्न सक्छन् । योलगत्तै उनी स्वतः निलम्बनमा पर्छन् । सरकारले २८ मंसिरका लागि संसद् अधिवेशन आह्वान गरेको छ, आजको नयाँ पत्रिका दैनिकले पूर्वसभामुख, पूर्वन्यायाधीश, राष्ट्रियसभा सदस्यलगायत व्यक्तित्वहरूको भनाईलाइ समेटेर समाचार लेखेको छ ।















प्रतिक्रिया