
पोखरा, १७ मंसिर । पोखरामा निर्माण भएको अन्नपूर्ण केबुलकार निर्माण सम्पन्नपछि परीक्षण थालिएको छ ।
पर्यटकीय नगरी पोखरामै पहिलोपटक निर्माण भएको सो केबुलकार अहिले गोण्डला सेदीबाट सराङकोट पुर्याएर परीक्षण कार्य भइरहेको छ ।
आगामी जनवरी १ तारिकदेखि व्यावसायिक रुपमा सञ्चालनमा ल्याउने तयारीका साथ अहिले परीक्षण भइरहेको अन्नपूर्ण केवलकार प्रालिका सञ्चालक तीर्थराज त्रिपाठीले जानकारी दिए ।
अहिले जापानस्थित निपोन कम्पनीले प्राविधिक तर्फको अन्तिम काम गरिरहेको उनको भनाइ छ । केबुलकार पोखरा–१८ सेदीबाट चढेर सराङकोटमा पुग्न सकिन्छ । अन्नपूर्ण केबुलकार सेदीबाट सराङकोटसम्म दुई दशमलव ४ किलोमिटरको दूरीको छ ।
सराङकोटको टावर १ हजार ५१५ मिटरको उचाइमा हुने छ । तल्लो स्टेशन समुद्री सतहदेखि ८७० मिटरको उचाइमा छ । त्यो उचाई केवल ८ मिनेटको यात्रामा पूरा गर्न सकिने सञ्चालक त्रिपाठीको भनाइ छ ।
पहिलो चरणमा १८ वटा गण्डोला (डिब्बा)ले सर्वसाधारणलाई सेवा दिने तयारी छ ।















प्रतिक्रिया