काठमाडौं, ११ मंसिर । नबिल बैंकले सामाजिक उद्यमशीलता विकासका लागि नबिल सामाजिक उद्यमशिलता कार्यक्रम एसएसई शुरु गरेको छ ।
समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालीन समाधान गर्ने नवीन सोँचमा आधारित उद्यमलाई प्रबर्द्धन गर्दै आर्थिक सामाजिक रुपान्तरणलाई बढावा दिनका लागि यो कार्यक्रम शुरु गरिएको हो ।
स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासका लागि आवश्यक सिप तथा वित्तिय सहयोग उपलब्ध गराई सामाजिक उद्यमको प्रबद्र्धन गर्ने उद्येश्यका साथ नविल एसएसईले हाललाई सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रम र फेलोशिप कार्यक्रम गरी दुई किसिमका कार्यक्रम तय गरेको छ ।
शुरुवाती चरणमा सामाजिक उद्यमशीलतामा प्रमाण पत्र कार्यक्रमलाई कार्यान्वयनमा ल्याउन बैंकले सातै प्रदेशका स्कुल कलेज तथा विश्वबिद्यालयसँग सम्झौता गरेको छ ।
महेन्द्र मोराङ आदर्श मल्टिपल क्याम्पस, बीरगंज पब्लिक कलेज, काम्पिएन कलेज, फ्याकल्टी अफ ह्युमानिटिज एन्ड सोसल साइन्स, पोखरा विश्वविद्यालय, क्षितिज इन्टरनासनल कलेज, सुर्खेत मोडल कलेज र सुदूर पश्चिमाञ्चल अकाडेमीसँग नविलको सम्झौता भएको छ ।
यो कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेशमा एउटा विश्वविद्यालय वा कलेज संग सहकार्य गरि वार्षिक ७ सय विद्यार्थीहरुलाई सामाजिक उद्यमी बन्ने अवसर श्रृजना गर्नेछ ।
त्यसैगरी फेलोशीप कार्यक्रम आवासीय तालिममा आधारित हो, जुन काठमाडौंमा त्रिभुवन विश्वविद्यालयको ब्यबस्थापन संकायको स्कुल अफ म्यानेजमेन्ट सँग सम्झौता बैंकले गरेको छ ।
यसै गरी एक वर्षसम्मको आवश्यक सहयोग सहित ४० सहभागीलाई संलग्न गराउँने ६ महिने सिकाइमा आधारित यो कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको शुरुवात गर्न सक्षम बनाउने लक्ष्य राखेको छ ।
यो कार्यक्रममा सहभागि हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् र छनौटमा परेका व्यक्तिहरुलाई उद्यमशीलताको तालिम दिइनेछ । उनीहरुका लागि तालिम अवधिमा बस्ने, खाने सुविधा उपलब्ध हुनेछ ।
संभाव्य सामाजिक उद्यममा इच्छा भएका, सोच बनाएका र आवश्यक मात्रामा आफ्नो लगानी गर्न तयार भएका व्यक्तिहरु यी दुबै मध्ये कुनै एक कार्यक्रममा सहभागि हुन सक्नेछन् ।
दुबै कोर्स पूरा गरेको व्यक्ति उद्यमशीलताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडेल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम शुरुवात गर्न सक्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया