बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कात्तिकमा मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनामा २ सय ३१ जना पीडित

दैनिक नेपाल २०७८ मंसिर ७ गते १४:४५

काठमाडौँ, ७ मंसिर । इन्सेकले कात्तिक महिनामा १ सय ४ जना महिला र १ सय २७ पुरूष गरी २ सय ३१ जना मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ ।

मङ्सिर ७ गते कात्तिक महिनाको मासिक विश्लेषण जारी गर्दै इन्सेकले ०७८ कात्तिक महिनामा इन्सेक अनलाइनमा प्रकाशित समाचार अनुसार विभिन्न घटनामा परी २ सय ३१ जना पीडित भएका जनाएको हो ।

‘प्रकाशित समाचार अनुसार बागमती प्रदेशमा १ सय ३४, प्रदेश १ मा २२, लुम्बिनी प्रदेशमा २१, प्रदेश २ मा २०, कर्णाली प्रदेशमा १८, गण्डकी प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा दुई जना पीडित भए’, विश्लेषणमा उल्लेख गरिएको छ ।

कात्तिक महिनामा प्रहरीले १५ जना महिलासहित १ सय १९ जनालाई गिरफ्तार गरेको समाचार प्रकाशन गरिएको छ ।

‘प्रहरीले सर्वोच्च अदालत परिसरमा नेपाल बार आबद्ध अधिवक्ताहरूले प्रधानन्यायाधीशको राजिनामा माग गर्दै गरिएको प्रदर्शनमा र नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कात्तिक ३० गते आह्वान गरेको नेपाल बन्दका क्रममा सो पार्टीका कार्यकर्तालाई गिरफ्तार गरेको हो’, विश्लेषणमा उल्लेख छ ।

त्यसैगरी यो अवधिमा १३ जना घाइते, अमानवीय व्यवहारबाट एक जना, दुर्व्यवहारको घटनामा एक जना, जातीय विभेदको घटनामा एक जना र बम विष्फोटनमा परी दुई जना घाइते भएका समाचार प्रकाशन गरिएको छ ।

कात्तिक महिनामा कारागारमा एक जनाको मृत्यु भएको छ भने पतिद्वारा ६ जना पत्नीको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि एक जनाको हत्या भएको समाचार इन्सेक अनलाइनमा प्रकाशित छ ।

‘कात्तिक महिनामा बाल अधिकार उल्लङ्घनका घटनामा ३४ जना बालबालिका र महिला अधिकार उल्लङ्घनका घटनामा ४७ जना महिला पीडित भएका समाचार प्रकाशन गरिएको छ’,जारी विश्लेषणमा भनिएको छ ।

कात्तिक महिनासम्ममा ७६ लाख २४ हजार ३८ जनाले कोभिडविरूद्धको पूर्ण खोप पाएको पनि विश्लेषणमा उल्लेख गरिएको छ ।

कात्तिक महिनामा मात्रै पीसीआर विधिबाट १ लाख ९२ हजार १ सय २ ओटा स्वाब परीक्षण गरिएकोमा १२ हजार १ सय १२ जनामा कोभिड पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको तथ्याङ्कलाई आधार मानी विश्लेषण गर्दा कात्तिक महिनामा परीक्षण गरिएका स्वाबमध्ये ६ प्रतिशतमा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
सम्बन्धित