
काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका युवानेता तथा पूर्वमन्त्री महेश बस्नेतले १०औँ महाधिवेशनबाट अध्यक्ष केपी शर्मा ओलीको उचाइ थप बढ्ने बताएका छन् ।
केपी ओलीको नेतृत्वमा राष्ट्र, राष्ट्रियता र देशको राजनीतिलाई अझ उचाइ दिने नेता बस्नेतको भनाइ छ । नेकपा एमाले जिल्ला कमिटी भक्तपुरको विस्तारित बैठकलाई आज शनिबार सम्बोधन गर्दै नेता बस्नेतले एमालेको अभ्यास पछ्याउँदै कांग्रेसले नीति र नेतृत्वको अधिवेशन छुट्टाछुट्टै गर्ने प्रस्ताव ल्याएको दाबी गरेका छन् ।
माओवादी केन्द्रले एमालेको नक्कल गर्दै आज देशैभर वडा सम्मेलन गर्दैछ । यसप्रति लक्षित गर्दै नेता बस्नेतले कांग्रेस र माओवादीले एमालेको नक्कल गरेको बताए । ‘एमालेको कपी गरेर कांग्रेस र माओवादी हिँडेका छन्, यसका लागि म धन्यवाद दिन्छु, माओवादी र कांग्रेसले केही नभनी कपी गर्दैछन् ।’
नेकपा एमाले सबै राजनीतिक दलको अगुवा गर्ने पार्टी भएकाले कांग्रेस–माओवादीले आफूहरुको नक्कल गरेको बस्नेतले बताए । उनले भने, ‘वैचारिक हिसाबले लिड गर्ने पार्टी एमाले हो, समृद्ध नेपाल सुखी नेपालीको अभियान अगाडि बढाउने पार्टी एमाले हो, दलाल पूँजीवादीतन्त्रको कडा विरोध गर्ने पार्टी एमाले हो, त्यसैले सबै दलले एमालेको नक्कल गर्छन् ।’
पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले नेकपा एमालेले फेरि दुई तिहाइ बहुमत साथ चुनाव जितेर देशको नेतृत्व गर्छ भन्ने सन्देश दिने उउनको भनाइ छ ।















प्रतिक्रिया