
काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का पार्टी कार्यालय सचिव तथा पूर्वमन्त्री शेरबहादुर तामाङले पार्टीको १०औं महाधिवेशनबाट वर्तमान अध्यक्ष केपी शर्मा ओली नै सर्वसम्मत् रुपमा अध्यक्षमा निर्वाचित हुने बताएका छन् ।
आफूहरूले नेकपा एमालेलाई अझै पनि केपी ओलीकै नेतृत्वमा अगाडि बढाउन चाहेको बताउँदै उनले भने, ‘हामी केपी शर्मा ओलीको नेतृत्वमा नै एमालेलाई अघि बढाउँछौं । पार्टी अध्यक्षमा उहाँ नै सर्वसम्मत हुने हो । त्यही मनोविज्ञानले हामीले काम गर्छौं ।’ अध्यक्ष ओलीकै नेतृत्वमा एमाले अब एक ढिक्का भएर अघि बढ्ने उनको भनाइ छ ।
‘अहिले हामी केपी ओलीकै अगुवाईमा अघि बढ्छौं । एमालेभित्रको गुट र सबैखाले समस्या समाधान गर्ने प्रयत्न गरेका छौं । तल्लो तहदेखि उच्च तहसम्म सहमतिको वातावरण छ । म सुरक्षित छु भन्ने भावना सबैमा विकास भएको छ । महाधिवेशनपछि पार्टी सदस्यताको आह्वान गर्दैछौं । अहिले हाम्रो पार्टी सदस्यता ९ लाख प्लस छ । महाधिवेशनलगत्तै हामी पन्ध्र लाख बनाउँछौं । हामी एकताबद्ध रुपमा आगामी चुनावमा अघि बढ्छौं,’ उनले भने ।
तामाङले १०औं महाधिवेशनमा सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिने वातावरण बनेको पनि बताएका छन् । तर, सहमति नभए चुनावको लागि पनि आपूहरू तयारी अवस्थामा रहेको उनको भनाई छ ।
उनले भने, ‘हामी सर्वसम्मत् रुपमा पदाधिकारी चयन गर्ने प्रयत्नमा छौं । अहिले महाधिवेशन प्रतिनिधिको कुरा गर्दा पनि सबैजना पालिकादेखि केन्द्रसम्म सर्वसम्मत प्रक्रियाबाट आएका छौं । हामी उम्मेदवार हुन पाईँदैन भन्दैनौं । उम्मेदवारी घोषणा गर्ने अवसर पनि दिइन्छ । उम्मेदवारको बीचमा सहमतिको प्रयास गर्ने हो । प्रक्रिया सबै अपनाइन्छ । सम्पूर्ण तयारी छ ।’















प्रतिक्रिया