
रुपन्देही, ४ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्ला रुपन्देहीमा कांग्रेस नेता कार्यकर्ताबीच झडप हुँदा पाँच जना घाइते भएका छन् ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनको मतगणनामा संस्थापनइतर समूहका कांग्रेस नेता कार्यकर्ताबीच हात हालाहाल भएको हो ।
मतगणनामा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट प्यानलले अग्रता लिएपछि अर्को पक्षले मतगणनास्थलमा आक्रमण गरेको बताइएको छ । झडपमा ५ जना घाइते भएका छन् ।
मतगणनास्थलमा बाहिरबाट आएका केही अपरिचित व्यक्तिहरुले पौडेल पक्षका नेता कार्यकर्तालाई आक्रमण गरेको बताइएको छ । जारी मतगणनामा पौडेल पक्षका उम्मेदवार पुरण श्रेष्ठको प्यानलले नै अग्रता लिइरहेको थियो ।
घाइते भएका प्रदेशसभा क्षेत्रीय सचिव पदका उम्मेदवार शैलेश पन्तको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । अन्य ४ जनाको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया