नेकपा एमालेको १० गते चितवनमा उद्घाटन हुने १० औँ राष्ट्रिय महाधिवेशनको तयारी कस्तो भइरहेको छ ?

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुन गइरहेको छ । महाधिवेशनको उद्घाटन मंसिर १० गते दिउँसो १२ बजे नारायणघाटमा हुँदैछ । त्यसका लागि प्राविधिक टोली आजबाट मञ्च निर्माण र सजावटका लागि चितवन आइसकेको छ । मञ्च निर्माण र सजावटको काम आजबाट प्रारम्भ हुन्छ । मञ्च निर्माण र सजावटका लागि अनुगमन–निरीक्षण गर्नेलगायतको काम यस अघि नै पटक–पटक भैसकेको छ । मञ्च अगाडिको भाग बाढीले विगारेका कारण पुर्नेलगायतको काम भैरहेको छ । मञ्च वरिपरीको धेरै भागमा हरियो दूवोसहितको मैदान छ । हामी त्यही स्थानलाई थप व्यवस्थापन गर्ने कार्यलाई तिव्रताका साथ अघि बढाइरहेका छौँ ।

तपाईं मूल व्यवस्थापन समितिको सहसंयोजक र जनपरिचालन कमिटीको संयोजक हुनुहन्छ । जनपरिचालनको सन्दर्भमा के भइरहेको छ ?

हामीले यस पटक महाधिवेशन उद्घाटनमा पाँच लाख मानिस उपस्थिति गराउने भनेका छौँ । त्यसका लागि लुम्बिनी प्रदेशबाट कम्तीमा ७५ हजारको उपस्थिति गराउने भनेका छौँ । पोखरा, नवलपुर र चितवनले जनपरिचालनको विस्तृत योजना बनाएर चितवनले कम्तीमा ७५ हजार र नवलपुरले ५० हजारभन्दा बढी उपस्थिति गराउने भनेका छौँ । त्यसका लागि वडातहदेखि नगर, जिल्ला, प्रदेशस्तरसम्म नै जनपरिचालन कमिटी बनाएर कमरेडहरू खटिरहनु भएको छ ।

पाँच लाख मानिस उतार्ने भन्नुभएको छ । उद्घाटन सत्रलाई व्यवस्थित गर्न के–के तयारी गर्नुभएको छ ?

खुलासभालाई व्यवस्थित गर्न १० गते हामीले मुख्य गरेर ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर योजना बनाएका छौँ । त्यो दिन पश्चिमतर्फबाट आउने सवारीलाई नारायणी किनारको पारीपट्टी गैँडाकोट क्षेत्रमा व्यवस्थापन गर्दैछौँ । त्यसैगरी पोखरा र काठमाडौँतिरबाट आउने सवारीलाई पुरानो बसपार्क र दियालो वंगला क्षेत्रमा व्यवस्थापन गर्ने तयारी गरेका छौँ । त्यसै गरी पूर्वतिरबाट आउने सवारीलाई  बसपार्कलगायतको क्षेत्रमा व्यवस्थापन गर्ने भनेका छौं । नारायणी चौरमा हुने उद्घाटन सत्रमा आउन र फर्किन आम जनसमुदायलाई सहज होस् भन्ने हेतुले सेटबाट जानकारी गराउने, स्वयंसेवक खटाउनेलगायतको तयारी गरेका छौं ।

उद्घाटनस्थलको चौर लामो भएको हुँदा उद्घाटन सत्रलाई भव्य र व्यवस्थित बनाउन मञ्चबाट पछाडितर्फ बस्ने जनसमुदायलाई सजिलै देख्न र सुन्नका लागि ठाउँ–ठाउँमा डिस्प्लेको व्यवस्थापन गर्ने गरी त्यसको प्राविधिक तयारी गरिरहेका छौँ । चितवनमा उद्घाटन भएको दृष्य गैँडाकोट, चितवन हुँदै जनकपुर र बुटवलसम्म पनि डिस्प्लेमार्फत देखाउन सकिन्छ कि भनेर त्यसको पनि प्राविधिक तयारीका बारेमा हामी प्रयास गरिरहेका छौँ ।

पाँच लाख मानिस उतार्ने भनेपछि त्यहाँ वातावरणीय प्रभावको सन्दर्भ पनि उठ्ला । त्यहाँ सरसफाई गर्नेलगायतका बारेमा केही योजना बनाउनु भएको छ ?

पाँच हजार स्वयंसेवकको व्यवस्थापन गरेका छौँ । हामीले चितवनका सुरक्षा निकायसँग समन्वय गरेका छौँ । उहाँहरूसँग समन्वय गरेर हाम्रा स्वयंसेवकले महाधिवेशनस्थललाई व्यवस्थित गर्ने, सुरक्षाको प्रत्याभूति दिने, सरसफाई गर्ने जस्ता काम गर्ने छन् । यो पटक हामीले पोष्टर, पर्चा, पम्प्लेटलाई निषेध गरेका छौँ । त्यसकारण पनि वातवरणीय प्रदूषण कम गर्न केही हदसम्म सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

उद्घाटन सत्रलाई थप भव्य र व्यवस्थित बनाउन अन्य केही गर्नुभएको छ ?

महाधिवेशनलाई भव्य र सुन्दर बनाउन चितवन, गैँडाकोट हुँदै तनहुँसम्मका विभिन्न ठाउँमा स्वागतद्वार बनाउने विभिन्न प्रकारका व्यानरहरू राख्ने जस्ता कार्यलाई दू्रत गतिमा अघि बढाएका छौँ । त्यसका लागि कतै नछुटोस् र नदोहोरियोस् भन्ने हेतुले हामीले विभिन्न संगठनलाई ठाउँ तोक्ने जिम्मेवारी दिएका छौँ । चितवन बाहेकका स्थानमा हामीले स्वागतद्वार बनाउने, व्यानर राख्ने कार्य गर्दै आएका छौँ । त्यस्तै चितवनको पहिचान गैँडाले उठेर झण्डा समाएको मस्कट सार्वजनिक गरिसकेका छौँ । त्यसले विश्वभरि नै नेपालको राष्ट्रिय शानको रुपमा रहेको एकसिंगे गैँडालाई प्रचार गर्न थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।

बुटवल–नारायणगढ खण्डको बाटो निर्माणका कारण आवत–जावतमा केही कठिनाई हुने भनिएको छ । त्यसको व्यवस्थापनका लागि के गरिरहनु भएको छ ?

अहिले दाउन्ने क्षेत्रको बाटो निर्माणको चरणमा छ । निर्माणका कारण बुटवल–नारायणगढ क्षेत्रको बाटोमा धेरै धुलो र खाल्टाखुल्टीले गर्दा आवत–जावतमा केही कठिनाई हुने हुँदा हामीले सम्वन्धित निकायलाई खाल्टाखुल्टी पुर्न र धुलो कम गर्न पानी हाल्न अनुरोध गरेका छौँ । त्यसका लागि म आफैले पनि पहल गरिरहेको छु ।

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भयो । महाधिवेशनमा यसको सन्देश दिन केही योजना बनाउनु भएको छ ?

नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७२ वर्ष भएको हिसावले महाधिवेशनमा ७२ जना कलाकारले आफ्नो प्रस्तुति देखाउने तयारी गरेका छौँ । गीत–संगीतको माध्ययमबाट सबै जाति–भाषा, संस्कृति र परम्पराको पहिचान झल्काउने खालको प्रस्तुति गर्ने प्रयास गरेका छौँ । स्थानीय थारु समुदायको प्रस्तुतिको पनि हामीले बन्दोबस्त गरेका छौँ । मंसीर ९ गते हामीले चितवनमा करीब पाँच हजार स्वयंसेवकको प्रदर्शनी गर्ने तयारी गरेका छौँ । स्वयंसेवकलाई प्रशिक्षणको समेत व्यवस्था गरेका छौँ ।

बन्दसत्रको तयारीचाहीँ के भैरहेको छ ?

मंसीर १० गतेको उद्घाटनपछि त्यो साँझसम्ममा सबै प्रतिनिधि सौराहामा पुग्नुहुनेछ । उहाँहरूलाई खानपान र बस्नका लागि हामीले होटलको व्यवस्थापन गरिसकेका छौँ । बन्दसत्र हामीले सौराहामा गर्ने तयारी गरेका छौँ । बन्दसत्रका लागि तीन वटा हल रहेका छन् । मतदान कार्य हाम्रो त्यहीँ हुनेछ । अहिले यी सबै कार्यका लागि सौराहा झकिझकाउ गर्र्नेे काम भैरहेको छ । बन्दसत्र हलभित्र विभिन्न खाले प्रदर्शनीका लागि पनि हामीले व्यवस्थापन गरेका छौँ ।

यो पटक हामीले नयाँ प्रयोग अर्थात भोटिङ मेसिनबाट मतदान गर्ने भएका छौँ । त्यसका लागि प्रतिनिधिलाई भोटिङका लागि प्रशिक्षण दिने लगायतका काम उद्घाटनपछि मतदान अघिसम्म गर्ने भनेका छौँ । हामीले कोभिड महामारीको अन्त्य नभएको अवस्थामा प्रतिनिधि र उपस्थित सबैलाई मास्क अनिवार्य गरेका छौँ । त्योसँगै स्वास्थ्य मापदण्ड पनि सकेसम्म पालना गर्न पटक–पटक माइकमार्फत आग्रह गर्ने छौँ ।

निर्वाचन प्रक्रियाको तयारी बारेमा नि ?

मंसीर ११ गते बिहान सम्भवतः बन्दसत्रको कार्यक्रम सुरु हुनेछ । सुरुमा अध्यक्षको मन्तव्यपछि सम्भवतः हामी अध्यक्ष मण्डल गठन गरेर उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउने छौँ । त्योसँगै भोटिङ मेसिनमा तालिम गराउने व्यवस्था पनि गर्ने भनेका छौँ । साँझसम्ममा दावी–विरोध फिर्ता लिने, सांस्कृतिका कार्यक्रम गर्ने जस्ता तालिका रहनेछन् । १२ गते विहान ८ बजेबाट निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छौँ । ११ गते साँझको खाना सबै प्रतिनिधिलाई अध्यक्षको तर्फबाट आयोजना हुने भएको छ ।

१२ गतेसम्म महाधिवेशनको सम्पूर्ण औपचारिक काम सम्पन्न हुनेछ । प्रतिनिधिका लागि हामीले १२ गते बेलुकासम्मका लागि खाने–बस्ने व्यवस्थापन गरेका छौँ । १३ गते विहान नयाँ नेतृत्व छनोटसँगै सबै प्रतिनिधिलाई विदाई गर्ने तयारी भएको छ । १३ गते नै हामीले महाधिवेशनमा खट्ने स्वयंसेवक, कलाकारलाई सम्मान गर्ने कार्यक्रम राखेका छौँ । पर्यटनका लागि कोभिडका कारण केही सुस्ताएको सौराहाको चहल–पहल बढ्ने हामीले अपेक्षा गरेका छौँ ।