बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

खरसाङमा ‘श्री तुलसी अधिकारी अभिनन्दन ग्रन्थ’ विमोचन

दैनिक नेपाल २०७८ कार्तिक २७ गते २०:११

दार्जीलिङ । भर्खरै अस्सी वर्ष पुगेका प.तुलसी अधिकारी पेशाले पुरोहित हुन् तर, दार्जीलिङ पहाडी भेकको आध्यात्मिक, सामाजिक, राजनैतिक, खेलकूद साथै सङ्गीतको क्षेत्रसित उनको सम्बन्ध कसिलो छ । आपद–विपदले घेर्दा उनैकहाँ पुग्छन् अनि दह्रो आत्मविश्वास पलाएर फर्किन्छन् । धेरैका लागि उनी आत्मविश्वास र प्रेरणाका स्रोत हुन् । शुभ साइत र
शुभ कार्यका पूजाअर्चनाका लागि उनी पहाडी भेक साथै भारतका महानगरहरू दिल्ली, कोलकातालगायत विभिन्न ठाउँहरुमा पनि लोकप्रिय छन् ।

पहाडी भेकको समाजमा दिएका योगदानको कदर गर्दै खरसाङको विष्णुमाया शर्मा फाउण्डेशनद्वारा उनलाई नागरिक अभिनन्दन जनाउन ‘श्री तुलसी अधिकारी अभिनन्दन ग्रन्थ’ पुस्तक प्रकाशन गरेको छ। यो पुस्तक शनिबार ९७ वर्षीय लेखक डी.एस. दर्नालको प्रमुख आतिथ्यमा खरसाङको टाउन कमिटी हलमा समारोहमा विधिवत रूपमा विशिष्ट
अतिथिहरुको बाहुलीबाट विमोचन गरियो। यस अभिनन्दन ग्रन्थमा प.तुलसी अधिकारीको जीवनका आरोह-अवरोहका साथमा सङ्घर्षहरूलाई समेटिएका छन्। विष्णुमाया शर्मा फाउण्डेशनका प्रमुख चन्द्र शर्माको सक्रियतामा यो ग्रन्थ प्रकाशित भएको छ ।

प. तुलसी अधिकारी स्व० सुवास घिसिङले ५ अप्रेल १९८० मा स्थापना गरेको गोर्खा राष्ट्रिय मुक्ति मोर्चा (गोरामुमो) का एकजना संस्थापक सदस्य हुन्। गोर्खाल्याण्ड आन्दोलनको दौरान उनी पक्रा पनि परेका थिए। यस बाहेक उनी यताका विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्। आध्यात्मिक साथै धार्मिक क्षेत्राबाट उनी मानिसहरूलाई मार्गदर्शन दिने गर्छन्। समाजमा कुसंस्कार र कुरितीहरू बारेमा उनी सबैलाई सचेत गराउँछन्, यस्ता विषयहरुमा उनी तिख्खर आलोचना। अस्सी वर्ष पुगिसके पनि प.तुलसी अधिकारी अझ पनि जोशिला छन्, फूर्तिला छन्। युवा हुँदा उनी जीममा जान्थे र खरसाङको हिमाचाल व्यायामशालाका पनि उनी एकजना संस्थापक सदस्य हुन्।

हालमा उनी खरसाङ बडी बिल्डिङ एण्ड फ़िट्नेश एसोसिएशनका सल्लाहकार हुन्l सामाजिक क्षेत्रमा बढी सक्रिय रहेका हुँदा उनले सक्रिय राजनीति निक्कै अघि नै छोडेका हुन्। दार्जीलिङ-सिक्किम भेकमा नवरथा शरु भएपछि चारैतिर उनले स्तोत्र पाठ गरेको एल्बम ‘माँ चण्डीके’ गुञ्जिन शरु हुन्छ। उनका जीवनका घटनाक्रमहरुलाई समेटिएका पुस्तक
अभिनन्दन ग्रन्थ समाजमा सबैका लागि प्रेरणाका स्रोत बन्ने वक्ताहरुले बताएका छन् ।

गोर्खा जन पुस्ताकालय खरसाङका अध्यक्ष एवं सुपरिचित नाटककार पूर्ण गुरुङ ‘निरुपम’को अध्यक्षतामा सम्पन्न भएको अभिनन्दन ग्रन्थ विमोचन समारोहका मुख्य अतिथि ९७ वर्ष पुगेका डी.एस. दर्नालको पुस्तक ‘चिया श्रमिकको आत्मकथा’ पनि यसै समारोहमा विमोचन गरियो l चियाबगानका पूर्वप्रबन्धक डी.एस. दर्नालले चियाबागनमा आफूले देखेका भोगेका विषयहरुलाई यस पुस्तकमा समेटेका छन्। सुपरिचित उद्घोषक अञ्जना भण्डारीद्वारा उद्घोषणा गरिएको कार्यक्रममा गोर्खा संस्कृतिक संस्थानकी अध्यक्ष श्रीमती आशा मुखिया लामाले प० तुलसी अधिकारीको संक्षिप्त परिचय अनि सङ्गीतकार सुकुमार बराइलीले डी.एस. दर्नाल बारेमा संक्षिप्त परिचय प्रस्तुत गरे ।

स्वागत भाषणमा विष्णुमाया शर्मा फ़ाउण्डेशनका सचिव पुरुषोत्तम अधिकारीले यी दुईवटा पुस्तक प्रकाशनमा ल्याउनमा सफल बनेर नेपाली साहित्यको क्षेत्रमा विशेष उपलब्धी रहेको स्वागत भाषणमा बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित