
-निर्मल भट्टराई
लामो साङ्गठानिक अन्यौलपछि एमालेले आफ्नो जीवनमा ठूलो छलाङ् मारेको छ ।
छ हजारभन्दा बढी वडामा एकैपटक र त्यो पनि सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न पार्टी सफल भएको छ ।
आधुनिक प्रविधिको प्रयोग गरेर पार्टी अध्यक्ष के पी शर्मा ओलीले भर्चुअल माध्यमवाट उद्घाटन भएका ती अधिवेशनहरू जन उपस्थितिको दृष्टिले र पार्टी सदस्यविचको कमरेडली भावनाको दृष्टिले ऐतिहासिक बनेका छन् ।
नेपालका राजनीतिक पार्टीको इतिहासमा यो खालको राष्ट्रव्यापी पार्टी गतिविधि र नेतृत्व चयन गर्ने एमाले नै पहिलो पार्टी बनेको छ ।
गत स्थानीय तहको निर्वाचनमा झण्डै बहुमतको सङ्ख्यामा प्रतिनिधि पठाउन सफल एमालेले माओवादी संगको एकतापश्चात् स्थानीय तहको आफ्नो पार्टी संरचनालाई व्यवस्थित बनाउन सकेको थिएन ।
लाखौंलाख पार्टी सदस्यको नवीकरण र जिम्मेवारी व्यवस्थापन गर्न सकेको थिएन ।
जनप्रतिनिधि र पार्टीको सम्बन्धलाई व्यवस्थित बनाउन सकेको थिएन ।
केन्द्रको विवादको कारण सङ्गठनमा अन्यौल व्याप्त थियो ।
जनप्रतिनिधिलाई नियन्त्रण र सन्तुलन गर्ने एमालेको गौरवशाली परम्परालाई निरन्तरता दिन सकेको थिएन ।
करिब तीन वर्ष भत्किएको त्यो सेतु देशभर एकैपटक निर्माण भएको छ ।
एमालेले जनताको बहुदलीय जनवाद आफ्नो मार्गदर्शक सिद्धान्त बनाएपछि पार्टीको संगठनात्मक जीवन भयङ्कर आन्तरिक प्रतिस्पर्धाबाट गुज्रदै आएको थियो ।
पार्टीको केन्द्रदेखि तृणमूल तहसम्मको नेतृत्व निर्माणमा प्यानलको आधारमा निर्वाचन भयो, पार्टीभित्र निर्वाचन जित्नका लागि कतिपय अवस्थामा धन, डनलगायतका गैर कम्युनिष्ट माध्यमको समेत प्रयोग भयो ।
यसो भन्न सकिन्छ, वितेको दशक एमालेको आन्तरिक जीवन अति चुनावको शिकार बन्यो ।
जसका लाठ उसका भैंस मान्ने र चुनावमा अभ्यस्थ अधिकांश एमालेजनहरूमा नेतृत्व निर्माणमा सहमति हुन्छ भन्ने विश्वास टुट्दै गएको थियो ।
सहमति उच्चस्तरको जनवाद हो भन्ने तथ्य नै ओझेलमा परेको जस्तो देखिन थालेको थियो एमालेमा ।
अन्तर पार्टी प्यानल निर्वाचनले एमालेमा भित्र्याएका तमाम विकृतिलाई वडा अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनले रातो बत्ति बालिदिएको छ ।
यसले आगामी महिनामा हुने पार्टीको दशौं महाधिवेशनलाई पनि सर्वसम्मत रूपमा सम्पन्न गराउन दवाव बढाएको छ ।
विगतमा गुटबन्दीको कारणले एमाले आक्रान्त थियो । त्यसमाथि प्रचण्डको प्रवेशले झन अस्तव्यस्त बनायो ।
पार्टीको जीवनलाई सङ्कटमा धकेल्यो । आफ्नो पार्टीको सरकारलाई राम्रो काम गर्न नदिन आफैंभित्रबाट भयानक घेराबन्दी भयो ।
विवादको उत्कर्षमा आफ्नै पार्टीको सरकार गिराएर प्रतिक्रियावादीको सेवा गर्ने घृणित खेलसम्म भए ।
त्यस्तो घृणित खेल खेल्ने नेताहरू एमालेबाट बाहिरिएपछि एमाले आफ्नो गन्तव्यतर्फ ठमठम हिंड्न थालेको छ ।
शक्ति र गतिका साथ हिड्न थालेको छ । जग बलियो बनाएर पार्टी नेतृत्वलाई पुनर्ताजगी गर्ने महाअभियानमा वेरोकटोक जुटेको छ ।
यही अवधिमा एमालेको एकमात्र प्रतिद्वन्दी नेपाली काङ्ग्रेसले पनि आफ्नो चौधौं महाधिवेशनको शुरूवात गरेको छ ।
तर गुटबन्दीका कारण महिनौं वितिसक्दा पनि उसले वडाको नेतृत्व टुङ्ग्याउन सकेको छैन ।
सबैतिर विवादै विवाद देखिएको छ । त्यही कारण जिल्ला र प्रदेशका अधिवेशनको समयसारणी सर्दै गएको छ ।
संवैधानिक रूपमा अवैध भइसकेको नेपाली काङ्ग्रेस पार्टीको महाधिवेशन तोकिएको समयमा हुन नसक्ने आँकलन शुरू भएको छ ।
विचार, नेतृत्व र सङ्गठन सबै क्षेत्रमा नेपाली काङ्ग्रेस एमालेसंग प्रतिस्पर्धा गर्न नसक्ने हालतमा पुगेको छ ।
कम्युनिष्ट आन्दोलनलाई गद्दारी गरेर प्रचण्ड र माधवले नेपाली काङ्ग्रेसलाई सत्तामा नपुर्याएको भए उसको अहिलेको भन्दा खराब हालत हुन्थ्यो ।
कयौं वर्ष कम्युनिष्ट सत्ताले निरन्तरता पाउँथ्यो । राष्ट्रियता मजबुत हुन्थ्यो । समाजवादको प्राप्ति सहज र छिटो हुन्थ्यो ।
जेहोस् ,ठूल्ठूला षणयन्त्र, घेराबन्दी र आक्रमणबाट सकुसल बाहिर निस्किएको एमाले सर्वत्र सहमतिको स्वर्ण युगमा पदार्पण गरेको छ ।
एमालेका नेतादेखि कार्यकर्तासम्म आफ्नो स्वार्थभन्दा देश र जनताको हितलाई सर्वोपरि ठानेर यसैगरि सहमतिका साथ अगाडि बढ्ने हो र दशौं महाधिवेशन पनि एकमना एकताका साथ सर्वसम्मत बनाउन सक्ने हो भने आगामी दिनमा एमालेको विजय यात्रालाई कुनै शक्तिले रोक्न सक्दैन ।













प्रतिक्रिया