बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

जुवातास र रक्सीबिना दशैँ मनाउन सकिन्छ र ?

एसपी उप्रेती २०७८ असोज २८ गते १४:४६

-एसपी उप्रेती

सामान्यतया विजया दशमीलाई पारिवारिक भेटघाट तथा रमाइलोका पर्वका रुपमा नेपालीहरुले मनाउने गर्दछन् । हिन्दु धर्माम्बलम्बीहरुमा मात्रै सीमित दशैँ पछिल्लो समय अरुले पनि आआफ्नै तवरले मनाउने गरेका छन् । दशैँका अनगिन्ती विशेषताहरु छन् ।

यसको आफ्नै पौराणिक मान्यता रहँदै आएको छ । असत्यमाथि सत्यको विजयको रुपमा उत्सव मानेर मनाइने विजया दशमीमा दुर्गा भवानीको पूजा अर्चना गर्ने गरिन्छ । विभिन्न शक्तिपीठहरुमा बलि दिने लगायतका प्रचलन आज पनि निरन्तर नै रहेको छ ।

जसरी मानिसको जीवनशैलीलाई आधुनिकताले छोपेको छ त्यसैगरी, सम्पूर्ण चाडबाडलाई पनि आधुनिकताले प्रभाव पारेको छ । त्यसमा दशैँ पनि अछुतो छैन । आधुनिकताकै प्रभावले पनि होला मानिसहरुले दशैँलाई परम्परागत कम र फेसन ज्यादा बनाएको महसुस हुन्छ ।

चाहे त्यो पहिरनको तडकभडकमा होस् वा गरगहनाको प्रयोगमा नै किन नहोस् । तर जे भए पनि दशैँको आफ्नो महत्व भनेको बढेको देखिन्छ । यसको पछाडि प्राचीन विश्वास भन्दा धेरै पारिवारिक भेटघाट तथा लामो विदाको कारण पनि हुन सक्छ ।

त्यस्तै, आजको युवा पुस्ताले आफूलाई रिल्याक्स गर्ने बहानामा दशैँ लगायतका चाडबाडमा जुवा तास खेल्ने तथा मदिरा सेवन गर्ने जस्ता गतिविधि पनि हाम्रै समाजमा हामीले देखेका छौँ ।

कतिपय संस्कृतिविदले यस्तै तथ्यलाई नियालेर होला दशैँको गरिमा जोगउन नसकिएको तर्क प्रस्तुत गर्दछन् । विजया दशमीको दिन मान्यवरबाट टिका र आशीर्वाद ग्रहण गरेर मनाउने पर्वका रुपमा दशैँ रहेको छ । त्यसैको शिलशिलामा मानिसहरु ठूलो जमघट गर्ने मात्रै नभएर जुवा तास खेल्ने तथा मदिराको सेवन हुने गरेको देखिन्छ ।

यी कार्यहरुले एउटा त दशैँको प्राचीन मान्यतालाई गिज्याएको छ भने अर्को धन र स्वास्थ्यको समेत हानी गरिरहेको छ । यसमा लत लागेका मानिसहरुलाई हेर्ने हो भने त जुवातास र रक्सीबिना कसरी दशैँ मनाउने भन्नेसम्मको अवस्था रहेको हो की भन्नेसम्म आभास हुने गर्दछ ।

खैर जे होस् जसले आफ्ना बानीहरु भन्दा पर गएर जुवातास र रक्सीबिना दशैँको रौनकमा रमाउन चाहन्छ भने यो सम्भव छ ।

जसमा हामीले आफ्नो जीवनशैलीमा केही नयाँ तर महत्वपूर्ण आयामहरुलाई जोड्न सक्छौँ । जस्तै, हामीले दशमी अघिका दिनसम्म परिवारसँग कतै नजिकैको गन्तव्य घुम्न जाने, नाचगान गर्ने, विभिन्न परिकार बनाउन एक अर्कामा सहयोग गर्ने, घरका कार्यहरुमा सहयोग गर्ने जसले पारिवारिक आत्मीयता झनै धेरै बढाउने गर्दछ ।

त्यसैगरी, परिवारका सदस्यहरु माझ विभिन्न किसिमका खेल पनि खेल्न सकिन्छ । जस्तै, कि टेबल टेनिस, ब्याडमिन्टन, लुकामारी वा अन्य कुनै सरल र लोकल खेल पनि खेल्न सकिन्छ । वा गायन प्रतियोगिता जस्तो समेत गर्न सकिन्छ ।

यस्तै, परिवारका सदस्यबीच फिल्म हेर्न सकिन्छ घरमै बसेर पनि वा कुराकानी मात्रै गरेर पनि रमाउन सकिन्छ । विजया दशमी दिनमा टिका ग्रहण गरेपश्चात अन्य मान्यजनकोमा टिका लगाउन जाुनपर्ने तथा आफ्नामा पाहुनालाई स्वागत गर्नुपर्ने अवस्था आउने गर्दछ र त्यसैमा व्यस्त रहेर बाँकी समय पनि मनाउन सकिन्छ ।

यी सर्बै कुराहरु लेख्दा छिटो भए पनि समय लिने विषय हुन् । तसर्थ यस्तै तरिका अपनाउने हो भने हामीले रक्सी र जुवातास बिनाको दशैँ पनि निकै दमदार ढंगले मनाउन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित