मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

कोरोनाविरुद्ध खाने चक्की तयार, जोखिम आधा घटाउने

दैनिक नेपाल २०७८ असोज १७ गते ७:४७

लण्डन । परीक्षणमा रहेको एउटा खाने औषधिले कोभिडको गम्भीर लक्षण भएका बिरामीको अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने अन्तरिम क्लिनिकल परीक्षण परिणामले देखाएको छ ।

मोल्नुपिरभिर चक्की कोभिडका बिरामीलाई दिनको दुईपटक दिइएको थियो ।

अमेरिकी औषधि उत्पादक कम्पनी मर्कले परीक्षण परिणाम अत्यन्त सकारात्मक भएकाले बाह्य अनुगमनकर्ताहरूले परीक्षणकाल छोट्याउन अनुरोध गरेको जनाएको छ ।

उसले अमेरिकामा अबको दुई हप्तामा आपत्कालीन प्रयोगका लागि अनुमति दिन निवेदन दिने बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडनका प्रमुख मेडिकल सल्लाहकार डा.एन्थोनी फाउचीले परिणाम असाध्यै राम्रो समाचार भएको बताए ।

उनले अमेरिकी खाद्य तथा औषधि नियामक निकाय एफडीएले त्यो तथ्याङ्क समीक्षा नगरेसम्म भने सावधानी अपनाउन बताएका छन् ।

यदि नियामकहरूले अनुमति दिए भने मोल्नुपिरभिर कोभिड–१९ का लागि पहिलो एन्टिभाइरल खाने औषधि बन्नेछ । ‍

शुरूमा इन्फ्लुएन्जा उपचारका लागि विकास गरिएको यो औषधिले भाइरसको जेनेटिक कोडमा परिवर्तन ल्याइदिने गरी डिजाइन गरिएको छ । जसले भाइरस शरीरमा फैलनबाट रोक्छ ।

७.३ प्रतिशतले अस्पतालमा भर्ना हुनुपरेको थियो । यो तथ्याङ्क एउटा प्रेस विज्ञप्ति मार्फत् सार्वजनिक गरिएको छ तर समकक्षीहरूबाट समीक्षा भइसकेको छैन ।

कोभिड खोपमा भाइरसको बाहिर रहेको चुच्चो प्रोटिनलाई निशाना बनाइन्छ भने खाने चक्कीमा भाइरसले सङ्ख्या बढाउने इन्जाइमलाई नै निशाना बनाएको हुन्छ ।

यूकेमा एमएसडी नामले चिनिने मर्क कम्पनीले भविष्यमा उत्पत्ति हुने नयाँ भेरिअन्ट विरुद्ध पनि यो चक्की उत्तिकै प्रभावकारी हुने बताएको छ ।

मर्कका उपाध्यक्ष डारिया हजुडाले बीबीसीलाई भनिन्, ‘खोप लगाएका बिरामीलाई एन्टिभाइरस उपचार वा खोप प्रभावकारी नभएका व्यक्तिमा खाने औषधिले काम गर्‍यो भने जारी महामारी अन्त्य गर्न यो ठूलो हतियार साबित हुनेछ ।’

परीक्षण परिणामका अनुसार मोल्नुपिरभिर लक्षण देखिने बित्तिकै जति सक्दो छिटो लिन सके उत्तिकै द्रुत गतिमा फाइदा हुनेछ ।

यस अघिको एउटा परीक्षण गम्भीर कोभिड लक्षण भएर अस्पतालमा भर्ना भएका बिरामीमा औषधि दिँदा निराशाजनक परिणाम आएपछि रोकिएको थियो ।

मर्क कोभिड विरुद्धको खाने चक्कीको परीक्षण परिणाम सार्वजनिक गर्ने पहिलो कम्पनी हो । अरू कम्पनीहरू पनि खानेचक्कीबारे परीक्षण गरिरहेका छन् ।

यदि अमेरिकी प्रतिस्पर्धी कम्पनी फाइजरले र स्वीस कम्पनी रोचे पनि त्यस्तै चक्की परीक्षण गरिरहेका छन् ।

मर्कले सन् २०२१ को अन्त्यसम्ममा १ करोड चक्की उत्पादन गरिसक्ने बताएको छ । एफडीएबाट अनुमति पायो भने अमेरिकी सरकारले उक्त औषधि १२ अर्बको खरिद गर्ने सहमति गरिसकेको छ ।

कम्पनीले यूके लगायत अन्य मुलुकसँग पनि छलफलमा रहेको र न्यून तथा मध्यम आय भएका मुलुकमा पनि उत्पादन गर्न लाइसेन्सको सम्झौता गर्न छलफलमा रहेको जनाएको छ ।

किङ्स कलेज लन्डनकी प्रोफेशर पेनी वार्ड परीक्षणमा सहभागी थिइनन् । उनले भनिन्, ‘खोप कार्यदलले जस्तै यो औषधिको कार्यदलले पनि यो औषधिको प्री अर्डर गर्ने ठानिएको छ । त्यसो भयो भने यूकेले खोप लगाइसकेका बिरामीमा हुने कोभिडका बिरामीलाई पनि राम्ररी उपचारको व्यवस्था गर्न सक्नेछ ।’

अक्सफर्ड विश्वविद्यालयका सङ्क्रामक रोग विशेषज्ञ प्रोफेशर पिटर हर्बीले भने, ‘एउटा सुरक्षित, किन्न सकिने र प्रभावकारी खाने चक्की उपलब्ध हुँदा कोभिड विरुद्धको लडाइमा ठूलो जीत हुनेछ ।’

मोल्नुपिरभिरले प्रयोगशालामा राम्रो परिणाम दिएको छ तर वास्तविक परिणाम भने बिरामीहरूमा त्यसको कस्तो प्रभाव हुन्छ त्यसमा निर्भर हुनेछ ।

यो चरणमा कैयौँ औषधिले काम नगर्ने गरेको पाइने गरेको छ । अहिलेको अन्तरिम परीक्षण परिणाम भने उत्साहजनक रहेको बताइएको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित