बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

अनेसास कविता महोत्सवमा शरद पोखरेल प्रथम

दैनिक नेपाल २०७८ असोज ८ गते ८:४७

बोस्टन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको अनेसास कविता प्रतियोगितामा जापानबाट सहभागी शरद पोखरेलको कविता प्रथम भएको छ ।

प्रतियोगी ३०१ कविको कवितालाई पछि पार्दै पोखरेको एउटा चराको सूसाइड नोट शीर्षकको कविता प्रथम भएको हो ।

यसैगरी नेपालका कवि शुभचन्द्र राईको कविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईका कविता तृतीय भएका छन् ।

प्रतियोगितामा प्रथम हुनेले ५ सय अमेरिकी डलर, द्वितीय हुनेले ३ सय डलर र तृतीय हुनेले जनही दुई– दुई सय डलर नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।

वरिष्ठ कवि तुलसी दिवसको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रममा वाचनका लागि चयन भएका ३५ मध्ये ३२ जना कविले कविता वाचन गरेका थिए ।

कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टी सभापति गीता खत्रीले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन् भने डा.गोविन्दसिंह रावतले राष्ट्रकवि घिमिरेको वारेमा मन्तव्य राखेका थिए ।

अनेसासको केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा निर्णायकत्रय प्रा।डा। सावित्री मल्ल कक्षपती, डा.राम्जी तिमल्सिना र साहित्यकार सुरेन्द्र अस्तफलले कविताको मूल्याङ्कनका बारेमा प्रकाश पारेका थिए ।

अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजकत्वमा गठित महासचिव सर्वज्ञ वाग्ले तथा सदस्यहरू डा। रेणुका सोलु, प्रमोद सारंग र महेश्वर शर्माको संयोजन समितिले प्रारम्भिक चरणको कविता चयन गरेको थियो ।

पुरस्कृत कविहरूलाई छिट्टै एउटा कार्यक्रमको आयोजना गरि पुरस्कार समर्पण गरिने आयोजक समितिले जनाएको छ ।

अनेसासले राष्ट्रकवि माधव घिमिरेको जन्मजयन्तीको अवसर पारेर प्रत्येक वर्ष आयोजना गर्ने घोषणा गरेको अनेसास कविता महोत्सवको यो पहिलो संस्करण हो ।

प्रतिक्रिया
सम्बन्धित