२९ आश्विन २०८३, बिहिबार

२८ बुंदे लन्डन घोषणापत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन सम्पन्न

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लन्डन । २८ बुंदे लन्डन घोषणा पत्र जारी गर्दै तेश्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन आइतबार सम्पन्न भएको छ ।

महामारी युगमा सम्पूर्ण स्वास्थ्य मूल नारा रहेको घोषणापत्रले कोरोना भाइरसको महामारीका कारण उत्पन्न विषम परिस्थितिमा देखाएको धैर्य र साहसको लागी सबै नेपाली स्वास्थ्यकर्मी र आम नेपाली नागरिकको सराहना गरेको छ ।

‘हामी, स्वास्थ्य प्रत्येक व्यक्तिको नैसर्गिक अधिकार रहेको, जीवनको निरंतरताको लागि अमूल्य निधि भएको, र हरेक राष्ट्रको सामाजिक जीवनस्तर वृद्धिका लागि प्राथमिक तत्व भएको कुरामा विश्वस्त छौं । नेपालीहरूलाई गुणस्तरयुक्त स्वास्थ्य सेवा प्रदान गर्न हामी हरेकको अद्वितीय भूमिका रहेको र यस क्षेत्रमा योगदान दिनु हुने सम्पूर्ण व्यक्ति, संस्था र साझेदारहरूको योगदानको कदर गर्दै उहाँहरूलाई सहयोगको प्रतिवद्धता जाहेर गर्दछौं’, घोषणापत्रमा भनिएको छ ।

सम्मेलनले संसारभरि रहेका नेपाली विशेषज्ञ तथा विज्ञ जनशक्तिहरुको सिप, अनुभव एवं सम्पर्क संजाल नेपालको विकास र उन्नयनमा उपयोग गर्नका लागि नीतिगत व्यवस्था गरी एक संयन्त्र स्थापना गर्न नेपाल सरकारलाई आह्वान पनि गरेको छ ।

समापन समारोहमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष डा। बद्री केसी, महासचिव डा। हेम राज शर्मा, दक्षिण कोरियाका डा देवी बस्नेत लगायतका वक्ताले सम्मेलन कोभिड महामारीका बेला जनचेतना जगाउन उपयोगी भएको बताए । पत्रकार भगीरथ योगी तथा डा। दिनेश ज्ञवालीले अंग्रेजी तथा नेपाली भाषामा घोषणापत्र पढेर सुनाएका थिए ।

शुक्रबारदेखि विभिन्न सत्रहरु संचालन गरिएको र शनिबार लन्डनस्थित नेपाली दूतावासमा औपचारिक रुपमा शुरुवात गरिएको सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत गरिएका थिए भने ५० भन्दा बढी कार्यशाला सन्चालन गरिएका थिए ।

एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा।सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिर आयोजना गरिएको स्वास्थ्य सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताए । उनले महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोक दर्शन रेग्मी तथा स्वास्थ्य राज्य मंत्री उमेश श्रेष्ठले नेपालबाट संयुक्तरुपमा उद्घाटन गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै राज्य मंत्री श्रेष्ठले कोरोना महामारीको शुरु देखि नै नेपाल र नेपालीलाई सघाएकोमा गैर आवासीय नेपाली संघ तथा संसार भरिरहेका नेपाली चिकित्साकर्मीहरुलाई धन्यवाद दिए। उनले नेपाल सरकारले जोखिममा रहेका सबै जनतालाई खोप पुराउने कामलाई सर्वोच्च प्राथमिकता दिएको जनाए ।

कार्यक्रममा नेपालका लागि ब्रिटिश राजदूत निकोल पोलिट, नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइराला, नेपाल नर्सिङ्ग संघकी अध्यक्ष प्रा। मन कुमारी राई, वायल कलेज अफ सर्जन्स एडिनबराका प्राध्यापक माइकेल ग्रीफिन, वायल कलेज अफ नर्सिङ्गकी उपाध्यक्ष ट्रेसी बडिंग, शेफिल्ड विश्वविद्यालायका प्राध्यापक एन्ड्रयु लि, सम्मेलनको सहआयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगर लगायतका वक्ताले शुभकामना दिएका थिए ।

सम्मेलनको वैज्ञानिक समितिका अध्यक्ष प्रा। पदम सिम्खडा तथा डा। बोधराज सुबेदीले सम्मेलनको कार्यक्रम पुस्तिका सार्वजनिक गरेका थिए । सम्मेलनले​एनआरएनए चौथो विश्व स्वास्थ्य सम्मेलन अष्ट्रेलियामा गर्ने निर्णय समेत गरेको छ ।