
काठमाडौँ, ८ भदौ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।
१७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसएआइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित विदाई गरेका थिए ।
आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमानतर्फ प्रस्थान गरेका हुन् ।
बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको शुरुवात हुने विश्वास व्यक्त गरे ।

नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सबैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।
नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुह आइएमई ग्रुपर अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसला प्रदान गरेको बताए ।
आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टीमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।















प्रतिक्रिया