९ कार्तिक २०८३, सोमबार

२४ घण्टामा २३ हजार ६३३ जनालाई मास्क वितरण, ९६ जनालाई जरीवाना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ साउन । नेपाल प्रहरीले बितेको २४ घण्टामा थप २३ हजार ६३३ जनालाई मास्क वितरण गरेको छ भने ९६ जनालाई आर्थिक जरीवाना गरेको छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २३ हजार ६३३ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

यो सँगै उक्त कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा ८ लाख २२ हजार २५२ जनालाई निःशुल्क मास्क वितरण गरेको प्रहरीले बताएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै आएको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ९६ जनालाई ९ हजार ६०० रुपैयाँ जरीवाना गरिएको तथा सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने ६ हजार ७७६ जनालाई रोकी सम्झाई बुझाई छाडिएको प्रहरीले जानकारी दिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको २०४ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत २८ हजार ५१ जनालाई सचेत गराइएको बताइएको छ ।