९ कार्तिक २०८३, सोमबार

अफगानिस्तान युद्ध : तालिबान लडाकुहरू राजधानी काबुल छिरे

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काबुल, ३१ साउन । तालिबान लडाकुहरू अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार लडाकुहरू राजधानीको सबैतिरबाट छिरेको बताइएको छ ।

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ ।

उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन् । आइतबार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बिनासङ्घर्ष नियन्त्रणमा लिएका थिए ।

बीबीसीकी याल्दा हकिमका अनुसार काबुल छिर्ने क्रममा तालिबान लडाकुहरूले खासै ठूलो प्रतिरोध खेप्नुपरेको छैन ।

यसैबीच अफगान राष्ट्रपति अशरफ गनीले अमेरिकी दूत जाल्माइ खलिलजाद र नेटोका उच्च अधिकारीहरूसँग आपत्कालीन वार्ता गरेको बताइएको छ ।

तालिबान लडाकुहरू राजधानी काबुलमा प्रवेशद्वारहरूमा पुगेको विवरण आएकै बेला बैठकसम्बन्धी समाचार बाहिर आएको हो । तालिबानले आक्रमण तीव्र पारेयता शनिबार पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति गनीले मुलुक ‘गम्भीर खतरामा’ रहेको बताएका थिए ।

तीव्र रूपमा सरकारी फौजहरूको विफलतासँगै राजीनामाका लागि राष्ट्रपतिमाथि दबाव बढ्दो छ । तर, आइतबार अपराह्ण अफगान राष्ट्रपतिको कार्यालयले स्थिति नियन्त्रणमा भएको दाबी गरेको छ । बीबीसीबाट