
६ लाख ५२ हजार ८६० वर्गकिलोमिटर क्षेत्रफल रहेको अफगानिस्तानमा ४५ प्रतिशत प्रस्तुन भाषा बोल्ने र बाँकी पारसी, उज्बेकी, हजारा आदी भाषाभाषीका मानिस बसोबास गर्छन् ।
यो देशलाई दरी भाषामा एसियाको (कल्फ)यानी कि मुटु पनि भनिन्छ । यो देशबाट युरोप, अरब, अफ्रिका र एशिया पैदलयात्राा सजिलै गर्न सकिने समुद्रको बाटो हिँड्न नपर्ने देश हो ।
पहिलो अफ्गान राज्य अप्रिल १७०९ मा स्थापना भएको हो । तर, यो देशको हजारौंं वर्ष पुरानो इतिहास छ । भूगोलको हिसाबले यो भारत वर्षभित्र सदियौं वर्ष रहयो । त्यो देश पनि नेपाल जस्तै भुपरिवेश्ठित देश हो । तर, हाम्रो जस्तो दुई देशसँग मात्र सम्बन्ध राख्न वाध्य छैन ।
यहाँ इरान पाकिस्तान उज्बेकिस्तान तजेकिस्तान आदी देशसँग व्यापार गर्न स्वतन्त्र छ । यदि शासक राम्रो हुने हो भने देशको परिवर्तन हुन समय लाग्दैन । यहाँको मुख्य उत्पादन ड्राइ फ्रूट तथा हरियो तरकारी हो । यहाँको माटो खुब मलिलो छ, तर यहाँ जाडोयाममा खेती एक समय हुने हुँदा यहाँका जनता ६ महिना पर्खिन बाध्य हुन्छन ।

यो देशमा पनि कहिलै शान्तिको बाटो देखाउने शासक आएको देखिएन । यहाँ विदेशी शक्तिले खेल्ने यहाँका सोझा अनपढ जनतालाई जालझेलमा पारेर मार्ने मराउने काम मुगल साम्राज्यबाट चल्दै आयो । यो देश मौर्य सम्राटको पालामा पनि देखियो त्यहाँका अग्ला बलिया कदकाठिका मानिसलाई आपसमा लडाएर आफ्नो फाइदा उठाउनु चन्द्रगुप्त मौर्य गुरु चाणक्य हुँदै मोहमद गौरी बाबर गजनी गौरी नादिर शाह हुँदै तालिवानसम्म आइपुग्दा मुलुक बर्बाद हुन पुग्यो ।
यो देश सबै भन्दा पुरानो सिल्क रोडले पनि प्रख्यात हो । यो देशसँग नेपालको साइनो कसरी गाँसियो हामी अचम्म पर्न सक्छौं ।
११ सेप्टेम्बर २००१ मा पेन्टागनमा हमला भयो तब अमेरिकन फौज अफगानिस्तान प्रवेश गर्यो । साथै खुल्यो उनीहरूको संघसंस्थाको सुरक्षार्थ नेपालीहरूको अफगानिस्तान प्रवेश । यो बीचमा हामी नेपालीहरू कति मर्यौ कसैले हिसाब किताब राखेको होला ? मलाई जानकारी छैन ।
आज पनि अमेरिकन दूतावास, अमेरिकन युनिभर्सिटी, ब्रिटिश दूतावास, अष्ट्रेलियन दूतावास, क्यानाडा दूतावास विश्व बैंक आईएमएफ, एडीबी, युएनका सम्पूर्ण निकायभित्र नेपाली सुरक्षागार्ड छन् ।
क्यानाडा एम्बेस्सीलाई सुरक्षा मुहैया गराउँदै आएको कम्पनी साइबर कम्पनीलाई लक्षित गरी आक्रमण गर्दा १७ जना नेपालीले एकै ठाउँमा ज्यान गुमाएका थिए । त्यो ठूलो घटना थियो । तर, सानो छिट्फुट घटना २००१ देखि हुँदै आएका छन् ।
अब अमेरिकन सरकारले २० वर्षपछि आफ्ना गठबन्धन राष्ट्रलाई अफगानिस्तान छोड्न आदेश र्दिपछि त्यहाँको स्लामिक संगठन तालिवानले सयौं मिलिसिया संगठनसँग मिलेर देश कब्जा गर्दै गइरहेको छ । यो एक ठाउँमा मात्र नभएर सम्पूर्ण अफगानिस्तान कब्जा गर्दै गएको छ ।
आजको दिनमा मात्र २०० जना अमेरिकन एम्बेस्सी, ७० जना एशियाली विकास बैंक, २०० जना ब्रिटिश एम्बेस्सी, १२० जना बिश्व बैंक, ७० जना अमेरिकन विश्वविद्यालय र अरु अरुमा मिलाएर अझै १ हजार ५०० भन्दा बढी नेपाली कानुनी या गैरकानुनी रूपले बस्दै आएका छन् । अब उनीहरूको अवस्था के हुने हो ? उनीहरूलाई राष्ट्रले कसरी हेरिरहेको छ ?
भर्खर अमेरिकन आर्मी अफगानिस्तान आएकाले त्यहाँ पुनर्निर्माणको कामका लागि भारतीय कम्पनी, अरबियन कम्पनी, अमेरिकन र युरोपियन कम्पनीको बीचमा प्रतिस्पर्धा पनि चलेको थियो । उनीहरू मजदुरलाई ठगेर आफू कसरी धनी हुने भन्ने ध्याउन्नमा नै थिए । यद्यपि यो मामिलामा भारतीयहरू अरु कम्पनी भन्दा अगाडि छन् । दिल्लीमा ५०० डलर भनेर ललैजाने त्यहाँ लगिसकेपछि १०० डलरमा काम गराउने उनीहरूको धन्दा नै थियो ।
बीएससी–सी एन्ड सी नाम गरेको कम्पनीमार्फत मलाई हरियाणाको गुरुग्रामबाट अन्तर्वार्ता लिएर ५०० डलर तलब, वर्ष वर्षको बिदा भनेर हातमा २० डलर दिएर ४० जना नेपालीसँग बिमानस्थल पठाइयो । त्यो दिन थियो फस्र्ट जनवरी २०० डलर । मलाई त्यहाँ जानु भन्दा पहिले त्यहाँको बारेमा केही जानकारी नै थिएन । घरको आर्थिक अवस्था नाजुक थियो । साच्चिकै भन्नु पर्दा मेरो जहान दुईभाइ छोरा एउटी छोरी सानो घर त थियो तर ऋणै ऋण थियो ।
आफन्तहरू मलाई हेर्दा निधार खुम्च्याउँथे । मैले मेरा बुबा–आमाका लागि भाई बहिनीका लागि केही गर्न चाहेर पनि निकै धौ धौले काम गर्नु पर्दथ्यो । तर त्यो भारतीय कम्पनीलाई मैले धन्यवाद के मानेमा दिनुपर्छ भने मैले विदेश जाने लगानी गर्नु परेन । त्यो नै म जस्तो गरीबको लागि ठूलो राहतको विषयवस्तु भयो ।
हामीलाई जब काबुल उतारियो । सयौं जहाजका टुक्रा बिमानस्थल वरपर छरपस्ट थिए । निकै जाडो हिउँले ढाकेका पहाड, काला–काला पहाड, उराठ लाग्ने, रुख बिरुवा नभएका, न भाषा बुझिन्छ न बोली नै । अग्ला–अग्ला मान्छे छन् निकै बलिया जिउडाल परेका पुरुषहरू, महिलाहरूको मुख देखिन्न बुर्खाले पुरै शरीर छोपेको । अरबी महिलाहरूको भन्दा भिन्दै नीलो खालको बुर्खा लगाउने बाक्लोखाले आँखाको वरिपरी मात्रा जाली बुनेर हेर्न सकिने खालको शायद त्यो ठाउँ अनुसार होला जाडो ठाउँ हुनाले होला जस्तो मलाई लाग्यो ।
त्यो रात हामीलाई काबुलको वजिर अकवर खान सडक १३ मा बसायो । अर्को दिन हामीलाई गजनी लगेर बसायो । ठाउँ–ठाउँमा एम्बुस थापेको निकै जोखिमपूर्ण यात्रा भयो । एक रात हामी गजनी बसेर अर्को रात कलात बास बस्यौं । कलातमा दुई रात बसियो । त्यहाँबाट हामी कन्धारको स्पिन बल्डग भन्ने ठाउँ गयौं । त्यो एशियाली विकास बैंकको प्रोजेक्ट थियो ।
भारतीय कम्पनीले पेटी ठेक्का परेको रहेछ । यो साइडमा हामी बंगाली, पाकिस्तानी, भारतीय, नेपाली, पञ्जाबी र अफगानी गरी ४०० जना कामदार थियौं सबैलाई ठगेको थियो कम्पनीले । तर, मलाई भनेको तलब नदिएपछि म फर्किने निर्णय गरेँ । घर सम्पर्क हुन नसक्ने अनकन्टार ठाउँ दिन रात हेलिकोप्टरको आवाज, कुन बेला के हुने हो थाहा छैन ।
स्वास्थ्यको हिसाबले पनि निकै जोखिम । मलाई एक्लै संघर्ष गर्न सजिलो त थिएन, तर म लडेँ । त्यो कम्पनीको एमडीसँग सिधै उसैले मलाई एशियाली विकास बैंकको प्रमुखको घरमा पठायो । त्यहाँबाट मलाई कामको दुःख भए पनि सुरक्षाको हिसाबले केही सुरक्षित महसुस गरेँ ।
बाहिर हजारौं नेपालीलाई सुनौलो मौका आएको थियो । २५०० डलरदेखि ५००० डलर कमाउने प्रलोभनमा नेपाली दलालहरू काठमाडौंदेखि दिल्लीका गल्ली–गल्लीमा जाल थापेर बसेका थिए । धेरै मान्छेको घर बर्बाद बनाएका छन् । यहाँ राम्रो हावापानी नजिकको गन्तव्य राम्रो आम्दानी आश देखाइ धेरै नेपालीलाई बिल्लिबाठ बनाएका घटना पनि छन् ।
मैले नै १३ जना नेपालीलाई जेलबाट छुटाएर पठाउन निकै संघर्ष गर्नु परेको थियो । दलालमाथि दलाली गर्दै कैदीमाथि दलाली लाग्ने रहेछ त्यहाँ । लागूऔषधको ओसारपसार पनि गरायो । नेपाली महिला दिदीबहिनीहरूलाई समेत त्यहाँ पुर्याइएको छ । शुरू शुरूमा त्यहाँ जान भिसाको कठिनाई थिएन । ३० डलर र पासपोर्ट लगेर नयाँ दिल्लीको चाणक्यपुरी अशोका होटेल गए पछि त्यहाँ अफगान दूतावासको कार्यालय थियो । तेहीँबाट सजिलै भिसा लिन सकिने ।
तर, सोझासिधा जनताका लागि जानकारी नहुने । त्यसको फाइदा दलालले उठाउँथ्यो । अफगानिस्तानमा विदेशी कामदार चाहियो जो सस्तो पारिश्रमिकमा काम गरोस्, त्यो नेपाली नै ठीक हुन्थ्यो । इमान्दार पनि हुने । त्यहाँ सुप्रिम ब्लू रेड होट जस्ता विदेशी सुपर मार्केटमा हजारौं नेपालीले काम गर्थे । नेपालीले नै रेस्टुराँ खोलेर डान्सबार चलाउँदा नेपालीले नै खुकुरी प्रहार गरी घाइते बनाएर रेस्टुराँ बन्द भएको थियो ।
नेपाली कामदारको यस्तै यस्तै हर्कतका कारण पछि नेपालीलाई भिसाको समस्या शुरू हुन थाल्यो ।
मैले काम गर्ने ठाउँ ग्रीन जोने हो । वैदेशिक कुटनीतिक नियोगभित्र सानो काम गरे पनि गाडीको प्लेट हेर्यो कि प्रहरीले पनि सलाम ठोक्ने यो कस्तो काइदाको ठाउँ हगी ? म जाबो भाँशे मन्त्री राजदूत नियोगका मुखियालाई रातिको मध्यपान गराउनेदेखि भोजन पनि गराउने मेरै जिम्मा । तर, कसैले चिन्दैन र पो ! ७ जना मुखिया बदलिए । १९ घन्टा उभिएरै काम गरियो । म र मेरो भाइ जो मलाई सबै भन्दा प्रिय छ, हामी दुई भाइले बाहिर गएर धेरै कमाउने कम्पनी बदल्ने आश गरेनौं । तर, मरी–मरी काम गरेर घरपरिवारको लाइफस्टाइल बदल्नेमा कुनै कमी राखेनौं ।
त्यहाँ अमेरिकनहरूले बनाएको सुरक्षा घेरा छन् भनिन्छ तर खासमा यस्तो केही हुन्छ जस्तो मलाई लागेन । अस्ती रक्षामन्त्रीको घर उडाइदिए । २०१० मा नेतोको मुख्यालयमा ट्रक बम हानेका थिए । त्यसैले त्यहाँ आज पनि अन्दाजी १ हजार ५०० नेपाली होलान् यो मेरो व्यक्तिगत धारणा हो । किन कि सरकारी आँकडा अनुसार ६ हजार ५०० जना थियो । जो पुरै अफगानिस्तान भरी यूएनको कार्यक्रम रहँदा थियो ।
आज कार्यक्रम जम्मा काबुल मै मात्रा सिमित छ र त्यो पनि अमेरिका युके नेटो भारत सबैले फर्काउने कार्यक्रम चलेकाले नेपालीहरूलाई सुरक्षित रूपमा फर्काउनु नेपाल सरकारको दायित्व हो ।













प्रतिक्रिया