यादको प्रतिविम्व नै अवशेषका सूचक हुन् । सत्यताको कसीमा नापिने अवशेष जीवनका एकमात्र अंश हुन् । जुन नचाहेर पनि पल पलमा आत्मिकतामा जमेको हुन्छ । केही पलका लागि कसैसँग गरिने दोहोरो सम्वादका वीचमा यसको अस्तित्व विहिन देखिएता पनि यो कहिल्यै विलिन हुँदैन । यहि सत्यताका वीचमा जीवनका उतारचढावहरू भइरहनेछन् ।
देखिने, भोगिने र जीउनका लागि गरिने कोशिषहरू सजीवताका लागि पर्याय बनेतापनि ह्दयको त्यो समागम भने यथार्थ नै हुन्छ । यथार्थता लुकाउने प्रयत्न एउटा भएता पनि त्यो फगत मिथ्या मात्र हो । चेतनाको प्रतिष्पर्धामा अव्वल देखाउने खोज्ने प्रयासहरू अन्तत व्यक्ति केन्द्रित भएर स्वखलित हुने गर्दछन् । भोगाईको जीवनमा जीवनको उत्तरार्द्धमा गएर पछुताउने शिवाय अन्य केही नहुने रहेछ । यहि एकमात्र सत्यतालाई आत्मासात गर्न नसकी रमिने र रम्ने प्रतिष्पर्धामा पलहरू वितिरहे । ऐनामा वाहिरी सुन्दरता नियाल्ने अथक प्रयासभन्दा वाहिर गएर सोच्ने हिम्मत गर्न सकेन । केही भिन्नका वीचमा गरिएको प्रयास पृथक बन्न सकेन । सधै देखिने र भोगिने प्राकृतिक अनुपमतालाई समेत आत्मासात गर्न नसक्दा वाल्यकालमा देखिएका अनेकन सपनाहरू समुन्द्रमा गएर विलिन हुन पुगे ।
सम्पन्नता र वलियोको त्यो सोँचलाई प्रकृतिको सानो हावाले धुलिसात बनाइदियो । त्यहि हिजोको मीठो प्रकृति आज पर्खाल बनेर उभिदियो । लाग्दथ्यो, सबै मेरा सहयोगी हुन्, त्यो त केवल सोँचको बन्धक मात्र रहेछ । हिजो चञ्चल लाग्ने मौसमले आज गिज्जाइदियो । लाग्दथ्यो, त्यहि मधुर आवाजले जीवन सदैव संगिन हुनेछ । यथार्थतालाई लुकाउने प्रयत्न निश्चित समयका लागि मात्र मिठास हुने रहेछ । समयको बन्धक हुनेछ भन्नेलाई बुझन् नसक्दा हुने चेतनाको पीडामा सह्य हुन सम्भव नहुने रहेछ । अवशेष सवैमा निहीतार्थ हुन्छ, यहि वीचमा यसको प्रभाव व्यक्तिको चेतनावाहेक पनि सजिवतामा प्रकट हुने रहेछ, मात्रा मात्र फरक हुने रहेछ ।
सोँचको विविधतामा अव विस्तारै विर्को लागेको छ । विगतका अवशेषले बलियो हैन, कमजोर बनाउदै लगेको छ । कर्मभन्दा भाग्य र सहजतामा मात्र जीवन देख्न रुचाइएको जीवनमा विस्तारै भाग्यलाई दोष दिएर भाग्ने अनवरत प्रयास हुँदैछ । यद्यापि यो प्रयासका वीचमा पनि अवशेषले भने सोधिरहेको छ । अणु, परमाणु वस्तुमा रहेजस्तै अवशेष जीविततामा रहने रहेछ । यहि अवशेषको महशुश जव कमजोरको महशुश हुन्छ, उमेर र सोँच बन्धक बन्दछ, अनि यसको महत्वले प्रश्रय पाउने रहेछ । यहि अवशेषको प्रशय जीवनम गाढा बनेर आएको छ । विगतलाई सम्झाउने यो अवशेष कुनै समयसन्दर्भ, क्षेत्र, समय र पलमा सदैवमा अनियन्त्रित हुँदो रहेछ ।
उमेर र चेतनासँगै प्रादुर्भाव हुने अवशेषको यो प्रत्याभूतिले भोलिका दिनमा र समाज लगायत अवको पुस्तामा कति उजागर गर्न सकिएला ? आफू मरेपछि डुमै राजा भने झै अवशेषको त्यो झोकले बाँकी जीवन सहज बाँच्न देला कि नदेला ? प्रयत्न आफैमा अमुर्त हुन्छ, यो अत्यावश्यक छ, तर त्यो प्रयत्न जीवन, समाजका लागि नभएपछि त्यसले दिने परिणाम भनेको अन्तत नैराश्यता मात्र नै हो । यादका अवशेषहरू केहि समय छाँयामा पर्न खोज्दछन् । पूर्ण रुपमा विलिन हुन सक्दैन रहेछ । देखिएको सपना, गरिएका कल्पना त केही समयका लागि बाँच्ने मीठो औजार मात्र रहेछ, जुनपछि सोँचको बन्धकमा महँङ्गो हुँदो रहेछ ।
यात्रा अनवरत रह्यो र रहिरहनेछ, यसमा कुनै दुविधा छैन । जीवनलाई नजिकबाट नियाल्न र सार्थकता खोज्नका लागि गरिएको कर्मले प्रत्येक पलको अवशेषलाई प्रतिविम्वित गरिदिन्छ । प्रश्नका सागरबाट सोँच्न बाध्य बनाइदिन्छ । जब यो सबै अवशेषको बोध हुन्छ, जीवन फिक्का र रंगविहीन बनिदिन्छ । यहि रंगविहीन जीवनमा चालिएको हरेक पाइलामा आभास भइदिन्छ र अवशेषका अंशले सोधिरहन्छ । आत्मा मर्दैन, साँच्चै आत्मा नमर्ने नै रहेछ, किनकी आत्मा अवशेषका रुपमा जीविततामा प्रकट भइरहन्छ । भौतिक वस्तुलाई नै जीवनको अर्थ देख्नेहरूलाई अवशेषको यो अंशले पोल्ला कि नपोल्ला ? या त अवशेषलाई पनि समान्य अंशका रुपमा परिभाषित गरेर अगाडि बढ्ला ?
उमेरको ग्राफ बढेर उकालो लाग्दै गर्दा अवशेषका यी अंशहरू जीवनका सहयात्री बन्लान् कि अवरोध ? सोँच र चेतनाको तादात्म्यता मिलाउँदा समेत यस अवशेषका अंशलाई न्याय गर्न सकिएला कि नसकिएला ? सोचको निकृष्टतालाई सकारात्मक बनाउँदा अवशेषको यो अंशलाई सहज अवतरण गर्न सकिएला कि नसकिएला ?
साँच्चै आत्मा मर्दैन रहेछ । आत्मा सबैको एक हुन्छ, फरक त व्यक्तिको सोँच र चेतनामात्र रहेछ । आत्माबाट निस्कने पुकार र भनिने बोली वीचको तादात्म्यतामा आकाश र जमिनको अन्तर हुने रहेछ । फगत, मिथ्याका लागि गरिने कर्म र त्यस प्राप्तिका लागि बोलिने बोली आत्माको पुकार हुन सक्दैन । किनकी आत्मा अमर रहेछ, त्यहि आत्माको निरन्तरता नै सृष्टि रहेछ, जुन अन्त्यहीन रहेछ । अवशेषको प्रतिविम्व त्यहि आत्माको स्वरुप रहेछ । आत्मिक असन्तुलन त व्यक्तिको घमण्डको उपज रहेछ । जुन उपजलाई हामी तछाड–मछाड गरि प्राप्तिका लागि दौडिरहेका छौँ ।














प्रतिक्रिया