आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

आफूविरुद्धका निरन्तर प्रचारवाजी भएपछि डा.महतद्वारा दुःख व्यक्त

दैनिक नेपाल २०७८ साउन २९ गते ११:०४

काठमाडौं, २९ साउन । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले आफूविरुद्ध आएका समाचार र प्रचारवाजीप्रति चिन्ता व्यक्त गरेका छन् ।

सह–महामन्त्री डा.महतले शुक्रबार विज्ञप्ति जारी गरेर प्रधानमन्त्री शेरबहादुर देउवाका विषयमा आएको भिडियोका विषयमा आफूलाई जोडेर आएका कुराको खण्डन गरेका हुन् ।

‘मैले प्रधानमन्त्रीको उपस्थितिमा सीमित निकटस्थ सहयोगी र नेताहरूका बीचमा राखेका कुरालाई जोडेर “शेर बहादुर देउवा किन मलाई मन पर्छ” भन्ने भिडियोको पक्षमा बोल्योभन्दै, नभनेको कुरा संचार माध्यमहरूमा एकपछि अर्कोगरि सुनियोजित रुपमा सम्प्रेषण गरिएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, डा.महतले विज्ञप्तिमा भनेका छन् ।

‘प्रधानमन्त्री देउवाले आफ्नो जीवनको विभिन्न कालखण्डमा सत्तामा हुँदा र नहुँदा गरेका राम्रा कामहरूलाई उल्लेखित भिडिओमा प्रस्तुत गरेको भन्दा तथ्य र आधारसहित परिपक्क र भिन्न तरिकाबाट सम्प्रेषण गर्न सकिन्थ्यो भन्ने मलाई पनि लागेको छ’, उनले भनेका छन् ।

‘प्रधानमन्त्री वा उहाँको सहयोगीले गरेको कुनै कार्यले प्रधानमन्त्रीको छविलाई हानि गरेको छ भन्ने लागेमा प्रधानमन्त्रीको निरन्तर पहुँचमा रहेका नेता र निकटस्थहरूले सिधै प्रधानमन्त्रीलाई भनेर सच्याउन सकिने र त्यसका लागि सामाजिक सञ्जालको सहयोग लिनुुपर्ने अवस्था के परिस्थितिले आइपरेको हो भनेर उक्त छलफलमा मैले जिज्ञासा मात्र राखेको हुँ’, डा.महतले भनेका छन् ।

‘नेतृत्व तहबाट कुनै कमीकमजोरी भएमा सिधै राख्ने मेरो स्वभाव छ त्यसले काम नगरे मात्र सस्थागत र सार्वजनिक रुपमा राख्नुपर्छ भन्ने मान्यता म राख्दछु’, उनले भनेका छन् ।
‘छलफलका क्रममा भन्दै नभनेको कुरालाई यसरी तोडमोड गरि सञ्चारमाध्यममा त्यहिभित्रबाट सम्प्रेषण हुनु दुर्भाग्यपूर्ण भएको सबै सरोकारवाला, पार्टीका समर्थक र शुभचिन्तकहरूमा निवेदन गर्दछु’, उनले भनेका छन् ।

महामन्त्री पूर्णबहादुर खड्का, प्रवक्ता विश्वप्रकाश शर्मा र सह–महामन्त्री डा.महतबीच भिडियोलाई लिएर विवाद भएको भनेर एकतर्फी रुपमा समाचार बाहिर आएपछि डा.महतले खण्डन गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित