शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताल पुनः सञ्चालनमा आउने

दैनिक नेपाल २०७८ साउन २८ गते १६:५९

काठमाडौं, २८ साउन । सुनसरीको दुहबीमा सञ्चालित श्री लुनकरणदास–गंगादेवी चौधरी च्यारिटी अस्पताललाई स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइने भएको छ ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी निर्माण गरिएको सो अस्पताल अहिले बन्द अवस्थामा छ । करीब साढे ३ वर्षदेखि बन्द रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

बन्द हुनु अघिसम्म १५ श्यया क्षमतामा सञ्चालनमा रहेको अस्पतालको स्तरोन्नति गरी ५० श्यया र नवीनतम प्रविधि र मेडिकल उपकरणले सुसज्जित हुने बताइएको छ । सो अस्पताललाई नर्भिकले दक्ष जनशक्तिको साथै विशेषज्ञ सेवा समेत उपलब्ध गराउने छ ।

अस्पतालको सम्पूर्ण प्राविधिक पक्ष नर्भिकले हेर्नेछ भने आर्थिक सहयोग बसन्त चौधरी फाउण्डेसनले जुटाउने छ । नर्भिक इन्टरनेशनल हस्पिटलका संरक्षक बसन्त चौधरीले दुहबीको सो अस्पतालमा नर्भिकको प्रविधि, जनशक्ति तथा अनुभव समेत प्रयोग गरी पूर्वी नेपालका सर्वसाधारणलाई न्यून दरमा स्वास्थ्य सेवा उपलब्ध गराइने योजना रहेको बताए ।

‘हामीले सो अस्पताललाई पुनर्जीवन दिनका लागि ३ करोड रुपैयाँ बराबरको लगानी पूर्वाधार विकासमा गर्नेछौं,’ अध्यक्ष चौधरीले भने, ‘दुई करोड रुपैयाँ बराबरको स्वास्थ्य उपकरण उपलब्ध गराउनेछौं ।’ करीब ८ हजार वर्गफिटको नयाँ संरचनासहित मुटुरोग/प्रसूति सेवा लगायतका शल्यक्रियाका लागि अत्याधुनिक अप्रेसन थिएटर, अत्याधुनिक उपकरणजडित आइसीयू लगायतका संरचना निर्माण गरी अस्पताल पुनः सञ्चालन हुने उनले बताए ।

सो अस्पतालमा डायलासिस सेवा तथा २४ सै घण्टा स्तरीय आकस्मिक सेवा समेत उपलब्ध हुने छ । अस्पतालमा ७५ जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

आगामी वैशाख १ गते नर्भिक अस्पतालको स्थापना दिवसको अवसर पारेर सो च्यारिटी अस्पतालको सम्पूर्ण सेवाको सुरुवात गर्ने तयारी भइरहेको जनाइएको छ । चौधरीका पितामाताको नाममा स्थापित सो अस्पतालको शिलान्यास २०५२ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेका थिए ।

तत्कालीन गाविसले च्यारिटी अस्पताल चलाउनका लागि १० कठ्ठा जग्गा उपलब्ध गराएको थियो भने अस्पताल निर्माणमा लाग्ने सबै खर्च चौधरीले व्यहोरेका थिए । सो बेला समेत दुहबी–विराटनगर औद्योगिक करिडोरमा २०० बढी उद्योगहरु सञ्चालनमा रहेका थिए । कुनै औद्योगिक दुर्घटना हुँदा वा उद्योगमा काम गर्ने कुनै मजदूर वा श्रमिक अचानक बिरामी पर्दा उपचार गर्न विराटनगर नै पुग्नुपर्ने बाध्यता थियो । त्यस्तो बाध्यता अन्त्यको उद्देश्यले त्यसबेला च्यारिटी अस्पताल स्थापना गरिएको थियो ।

नर्भिकले यसै वर्षदेखि सुनसरीको दुहबीमै १०० श्ययाको अत्याधुनिक छुट्टै अस्पतालनको निर्माण कार्य समेत शुरू गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित