४ मंसिर २०८३, शुक्रबार

बैतडीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब संकलन, प्रयोगशाला पठाइयो

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, २४ साउन । बैतडीको मेलौलीमा मृत फेला परेकी महिलाको भेजाइनल स्वाब परीक्षणका लागि प्रयोगशाला पठाइएको छ ।

डडेलधुराको भागेश्वर गाउँपालिका–३, लामीकाँडे घर भएकी ३६ वर्षीया खेट्टी मल्ल यही साउन ८ गते बैतडीको मेलौली नगरपालिका–७, ल्वाथलीमा मृतावस्थामा फेला परेकी थिइन् ।

महिलाको मृत्यु कसरी भयो भन्ने पुष्टि गर्नका लागि भेजाइनल स्वाब र भिसेरा केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए । भेजाइनल स्वाब, मुटु, कलेजो, फोक्सोको टुक्रा तथा भिसेरा परीक्षणका लागि पठाइएको हो । उनले भने, “स्वाब र भिसेरा पठाएको १० दिन भइसकेको छ, रिपोर्ट आउन बाँकी छ ।”

ती महिलाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शव परीक्षण रिपोर्टमा भने हृदयाघातका कारण मृत्यु भएको देखाएको जनाइएको छ । महिलाको शरीरमा बाहिर देखिने कुनै घाउ तथा चोट केही पनि थिएन ।

प्रहरी निरीक्षक शाहीले भने, “हृदयाघातका कारण मृत्यु भएको रिपोर्ट आए पनि हामीले कल डिटेल, उक्त दिन उनी क–कसको सम्पर्कमा थिइन्लगायतका विषयमा थप अनुसन्धान गर्दै छौँ ।”

साउन ७ गते घरबाट माइतीघर बैतडीको मेलौली–५, सेरी आउन लागेकी उनी माइतीघर नपुग्दै बीच बाटोमै मृतावस्थामा फेला परेकी हुन् । मृतक महिलाको घरपरिवार तथा आफन्तले दाहसंस्कार गरिसकेका छन् ।