८ कार्तिक २०८३, आइतबार

साढे तीन महिनामा ५ लाख ४ हजार ८०७ जनालाई निःशुल्क मास्क वितरण

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ साउन । नेपाल प्रहरीले साढे तीन महिनाको अवधिमा ५ लाख ४ हजार ८०७ जनालाई निःशुल्क मास्क वितरण गरेको बताएको छ ।

कोभिड–१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले सञ्चालन गर्दै आएको ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत गत वैशाख ६ गतेदेखि हाल (साउन २१ गते)सम्म सो परिमाणमा मास्क वितरण गरिएको जनाइएको छ । प्रहरीले पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ७०० जनालाई निःशुल्क मास्क वितरण गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सृजना हुन सक्ने समस्या र चुनौतीलाई दृष्टिगत गरी संक्रमण रोक्न तोकिएको सुरक्षा मापदण्डलाई दुरुस्त रुपमा कार्यान्वयनका लागि नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरुलाई पनि बचाऔँ’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ लगायत विभिन्न सचेतनामूलक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गरिरहेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६२ जनालाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६ हजार २०० रुपैयाँ जरीवाना गरिएको छ । सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २ हजार २६९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ ।

साथै देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको १०३ वटा सचेतनामूलक कार्यक्रम अन्तर्गत ११ हजार १२४ जनालाई सचेत गराइएको छ ।