८ कार्तिक २०८३, आइतबार

बिमला ओली भन्छिन्– मलाई असह्य पीडा भएपछि ट्वाइलेटको चप्पल लगाएर भागेँ

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, २१ साउन । नेकपा एमाले लुम्बिनी प्रदेशले आफूलाई बन्धक बनाएको बताएकी प्रदेशसभा सदस्य बिमला ओलीले आज पत्रकार सम्मेलन गरी आफू सार्वजनिक भएको बताएकी छिन् ।

मुख्यमन्त्री शंकर पोखरेको निवासमा बन्धक बनाएर राखेपछि आफू हिजो बुधबार भागेर बन्धकमुक्त भएको बताएकी छिन् । बन्धकमुक्त भएको भोलिपल्ट आज बिहीबार पत्रकार सम्मेलन गरी उनले आफू मुक्त भएको दिन मानसिक रूपमा निकै थकित भएका कारण सोही दिन सार्वजनिक हुन नसकेको बताएकी छिन् ।

‘त्यसबेला (मुक्त भएपछि) म मानसिक रूपमा निकै थकित भएकाले मुक्त भएकै दिन साउन २० गते नै सार्वजनिक हुन सकिनँ । आज तपाईं सञ्चारकर्मीहरूमार्फत जनतासामु उपस्थित भएको छु,’ ओलीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेकी छिन् । आफू साउन १५ गतेदेखि अपहरणको शैलीमा बन्धकमा परेको र हिजो साउन २० गतेमात्रै भागेर मुक्त हुन सकेको उनले बताएकी छिन् ।

बन्धक बनाइएको धेरै दिन बितिसकेपछि पनि छोड्ने स्थिति नरहेपछि आफूले भाग्ने योजना बनाएको पनि उनले पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन् । ‘२० गते बिहान मलाई असह्य मानसिक पीडा भयो, यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर समय र परिस्थिति हेरी म आज जसरी पनि निस्कनुपर्छ भनेर तयारी गरेँ,’ उनले अगाडि लेखेकी छिन्, ‘दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका हेरि ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलको कार्यालयमा पुगेँ, जहाँ मेरो आफ्नै खुला र स्वतन्त्र संसारमा पुगेको अनुभूति गरें ।’

‘राजनीति र सरकारको खेलमा यस्तो घटना मैले पहिलोपटक बेहोर्न पर्यो । नेकपा (एमाले) ले यस्तो अराजनीतिक र अनैतिक काम गर्ला भनेर सोचेकै थिइनँ,’ उनले भनिन्, ‘मेरो विचार राजनीति उहाँहरूको भन्दा फरक भए पनि मैले उहाँहरूलाई अभिभावककै रूपमा मान्ने र बुझ्ने गर्दथें । तर त्यस्तो व्यवहार पाइनँ ।’