
काठमाडौं, २१ साउन । नेकपा एमालेका नेता डा. राजन भट्टराईले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई अधिकारसहितको अध्यक्ष दिने विषय कहीँकतै नउठेको बताएका छन् ।
जसले विधि र पद्धतिको नाममा यो रडाको मच्चाइरहेको छ उसैलाई पार्टीको विधानविपरीत अध्यक्ष बनाउने भन्ने कुरा एमालेको विधानमा कहाँ लेखिएको छ र कुन नैतिकताले अध्यक्ष पदको बार्गेनिङ गर्दै हुनुहुन्छ उहाँ भन्दै भट्टराई गम्भीर प्रश्न गरेका छन् । ‘माधव नेपाललाई अधिकारसहितको अध्यक्ष दिने कहाँ लेखिएको छ ?,’ भट्टराईले एकरेडियो अन्तर्वार्ताका क्रममा प्रश्न गरेका छन् ।
आफैद्वारा गठित कार्यदलले पार्टीभित्र गरेको १० बुँदे लिखित सहमतिलाई लत्याउँदै एकपछि अर्को अडान तेर्स्याएर पार्टी विभाजनको पक्षमा उभिने उहाँ (माधव नेपाल)लाई अध्यक्ष दिएर एकतामा ल्याउनुको कुै अर्थ नभएको भट्टराईको तर्क छ ।
‘माधवकुमार नेपाल पक्षका सबै विषय १० बुँदे सहमतिमा संशोधन भइसकेको छ । अधिकारसहितको अध्यक्ष दिने कुरा वार्ताका क्रममा उठेको छैन,’ नेता भट्टराईले प्रश्न गरे, ‘नयाँ–नयाँ कुरा थपिरहनुले के आशंका जन्माएको छ भने उहाँहरु सहमति भएका विषयमा उभिन तयार हुनुहुन्न । आफ्नै प्रतिनिधिले हस्ताक्षर गरेको विषयमा माधव नेपाल किन प्रतिबद्ध हुनुहुन्न ? किन पटक–पटक बोली फेरिरहनुभएको छ ? ब्याक हुँदै जानुभएको छ ?’
यसबाट माधवकुमार नेपाल पार्टी एकताको पक्षमा हुँदै नभएको पुष्टि गर्ने भट्टराईको भनाइ छ । एमालेभित्रको विवादको निकास दिन अध्यक्ष केपी ओलीले १० बुँदे सहमतिको अक्षरश पालना गरिरहेको दाबी पनि उनले गरेका छन् । ‘लाग्न त माधव नेपाललाई केपी ओलीलाई हटाएर एकल अध्यक्ष र प्रधानमन्त्री हुन मन लागेको होला । तर १० बुँदेमा त्यो छैन,’ उनले भने, ‘औपचारिक रुपमा नआएको प्रस्तावमा म धेरै बोल्दिनँ । तर यतिबेला बल उहाँहरुकै कोर्टमा छ ।’















प्रतिक्रिया