काठमाडौं, २१ साउन । गीत र ट्रेलर हलमा बज्न सुरु भइसकेको थियो । प्रतिक्रियाबाट ‘म यस्तो गीत गाउँछु–२’ का सिनेकर्मी निकै हौसिएका थिए । २०७६ फागुन ३० देखि प्रदर्शन मिति तय भएपछि ढुक्क भएको निर्माण समूहले सेन्सर र प्रचारप्रसारको काम पूरा गरेको थियो । तीन दिन बाँकी हुँदा सरकारले सिनेमा हलहरू बन्द गर्न निर्देशन दियो । त्यसपछि यो फिल्मले अझैसम्म प्रदर्शनको पालो पाएको छैन ।
निर्माता अर्जुन कुमारको ‘चपली हाइट–३’ चैत २८ मा प्रदर्शनको तयारीमा थियो । यही मितिमा सन्तोष सेनको ‘प्रेमगीत–३’ आउने तयारी थियो । तर चैत ११ देखि लकडाउन घोषणा भयो । यी दुई निर्माताले पनि फिल्मको प्रदर्शन सार्नुपर्यो ।
कोरोना महामारीको असर यी दुई फिल्मलाई मात्रै परेको होइन । प्रदर्शनका लागि तयार ‘लक्का जवान,’ ‘हिजोआजका कुरा,’ ‘सुस्केरा,’ ‘नीरफूल,’ ‘माइकल अधिकारी,’ ‘षट्कोण,’ ‘आकाशे खेती’ लगायत दर्जनभन्दा बढी फिल्मका निर्माता अझै अलमलमा छन् । यी फिल्ममा गरेको लगानी फ्रिज भएको छ । वर्षमा सयभन्दा बढी फिल्म प्रदर्शन हुने यस क्षेत्रमा लामो समयदेखि शून्यता छ । २०७६ अन्तिममा कोरोना संक्रमण देखा पर्न सुरु भयो । उक्त वर्ष महामारीअघि ५५ वटा नेपाली फिल्म प्रदर्शनमा आएका थिए । २०७७ मा ७१ फिल्मले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत मागेका थिए । बोर्डको फिल्म निर्माण शाखाका अनुसार २०७८ असार २३ सम्ममा ८ फिल्म दर्ता भएका छन् । यसबीच निषेधाज्ञा खुकुलो हुँदा केही फिल्म निर्माण पनि भए । तर ती सबैको प्रदर्शन अझै अनिश्चित छ ।
नेपाली सिने उद्योग ठूलो छैन । तर प्रविधि विकास र महँगीले लागत बढेर एउटैको निर्माणमा २/३ करोड लगानी पुग्न थालिसकेको निर्माता तथा निर्देशक अशोक शर्माले बताए । ‘प्रदर्शनका लागि तयार फिल्म रोकिएका छन्, लगानी जोखिममा परेर फिल्म क्षेत्र नराम्रैसँग थलिएको छ,’ उनले भने । फिल्म क्षेत्र खुल्ने टुंगो नहुनु, खुले पनि सामान्य अवस्था बन्ने/नबन्ने अनिश्चितताले अत्याएको उनले बताए । ‘फिल्म बनाउनेबित्तिकै प्रदर्शन गर्न पाए ताजा हुन्थ्यो । समय लम्बियो भने पुरानै हुन्छ । हलहरू धमाधम बन्द हुँदै छन् । ती हल टिक्नै नसकेर बन्द भएका हुन् । बन्द हुने भत्किने क्रम जारी छ,’ उनले भने ।
छायांकनमा जान तयार, बीचमै रोकिएका र प्रदर्शनका लागि तयार ८० फिल्मको आँकडा निकाल्दा १ अर्ब ५० करोड रकम फ्रिज भएर बसेको निर्माता संघका अध्यक्ष आकाश अधिकारी बताउँछन् । कोभिडपछि फिल्म क्षेत्रमा दक्ष जनशक्तिको अभाव हुने उनको भनाइ छ । ‘अहिले फिल्म क्षेत्रका झन्डै ५० हजार कर्मचारी ऋण गरेर जीवन चलाइरहेका छन् । कति गाउँ फर्किसके । अवस्था सामान्य हुँदा यी दक्ष जनशक्ति रहलान् कि नरहलान् ?’ उनको चिन्ता छ । कान्तिपुर दैनिकले खबर लेखेको छ ।















प्रतिक्रिया