
काठमाडौं, १९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको सरुवा रोकेका छन् ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले राज्यमन्त्रीस्तरीय निर्णय गर्दै हिजो सोमबार डा. गौतमसहित चार जनाको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका थिए । निर्णयलगत्तै विभिन्न तहबाट आलोचना शुरु भएपछि प्रधानमन्त्री देउवाले सो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिँदै सरुवा स्थगित गरेका छन् ।
प्रधानमन्त्री देउवाले स्वास्थ्यमन्त्रीको जिम्मेवारी आफैंसँग राखेर उमेश श्रेष्ठलाई राज्यमन्त्री नियुक्त गरेका थिए । तर, राज्यमन्त्री श्रेष्ठले आफूलाई खुबै शक्तिशाली देखाउने नियतका साथ सो निर्णय गराएका थिए । उनको निर्णय अधिकांशलाई चित्त नबुझेको भनेर विभिन्न सामाजिक सञ्जालहरूमा आलोचना भइरहेको छ ।
राज्यमन्त्री श्रेष्ठले डा. गौतमलाई प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली सरुवा गरेका थिए भने युनिफाइड केन्द्रीय अस्पतालका प्रमुख कार्यकारी अधिकारीमा ट्रमा सेन्टरका डा. रुद्र मरासिनीलाई पठाएका थिए । यस्तै स्वास्थ्य समन्वय महाशाखामा डा. विवेकलाल कर्ण र सार्क क्षयरोग केन्द्रमा डा. रिता भण्डारीलाई पठाएका थिए ।
तर, प्रधानमन्त्री देउवाले राज्यमन्त्रीले निर्णय गर्न नमिल्ने भन्दै कार्यान्वयनमा रोक लगाएका हुन् ।
मन्त्री श्रेष्ठको नियुक्तिबाटै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै विभिन्न आलोचना शुरू भइरहेको अवस्थामा उनको पछिल्लो अपरिपक्व निर्णयले सरकारको कार्यशैलीमाथि थप प्रश्न उठाएको छ । स्वास्थ्यसम्बन्धी विभिन्न व्यावसायिक संस्थाहरूसँग आवद्ध रहेका मन्त्री श्रेष्ठप्रति आम जनताको समेत भरोसा नभएको चर्चा भइरहेको छ ।
त्यसो त उनले मन्त्रीको नाममा सरकारी सुविधा नलिने तथा आफू संलग्न व्यावसायिक संस्थाहरूबाट राजीनामा दिने घोषणा गरेर आफूलाई चोखो बनाउने प्रयत्न पनि उनले यसअघि नै गरिसकेको छन् । तर, कागजी रुपमा हुने यस प्रकारको प्रतिबद्धताका आधारमा उनको नियतमाथि विश्वास गर्ने आधार भने देखिदैन ।















प्रतिक्रिया