३० आश्विन २०८३, शुक्रबार

डेढ करोड डोज खोप किन्ने सम्झौता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । सरकारले १ करोड ५० लाख डोज खोप खरिद गर्ने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मोडर्ना र फाइजर ४०/४० लाख, जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता भएको जानकारी दिएका छन् ।

मन्त्री श्रेष्ठका अनुसार फाइजर र जोन्सन एन्ड जोन्सन खोप खरिदका लागि सम्झौता भएको छ भने मोडर्ना खोप किन्न विश्व बैंकमार्फत भुक्तानीसमेत भइसकेको छ । यी खोप माघभित्र आइसक्ने मन्त्री श्रेष्ठले जनाएका छन् ।‘मैले जिम्मेवारी सम्हालेपछि वयस्क तथा किशोरकिशोरीसमेतलाई लक्षित गरी मोडर्ना, जोन्सन एन्ड जोन्सन, फाइजर र अस्ट्राजेनेकाको गरी १ करोड ५० लाख डोज खरिद गर्न सम्झौता भएको छ,’ उनले सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने ।

खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच १ अर्ब ६५ करोड रुपैयाँ ऋण सहायता स्वीकृतिको चरणमा रहेको उनले बताए । चैतसम्म सबै नेपालीले खोप लगाइसक्ने उनको दाबी छ । १२ देखि १८ वर्ष उमेर समूहलाई लगाइने मोडर्ना र फाइजर ९४ प्रतिशत प्रभावकारी रहेको अध्ययनहरूले देखाएका छन् । यी दुवै खोप दुई डोज लगाउनुपर्छ । जोन्सन एन्ड जोन्सनको खोप एक डोज मात्रै लगाए पुग्छ ।

‘एकतिहाइलाई असोज र सम्पूर्ण नागरिकलाई चैतभित्र खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ मन्त्री श्रेष्ठले भने, ‘खोप व्यवस्थापनका लागि मित्रराष्ट्र तथा दातृ निकायसँगको खोप कूटनीतिलाई उच्च प्राथमिकता दिनेछु ।’असोजभित्रै जापानको अनुदानमा १६ लाख अस्ट्राजेनेका, चीनबाट अनुदानमा १६ लाख तथा खरिदमार्फत ६० लाख भेरोसेल र भारतबाट अग्रिम भुक्तानीको १० लाख डोज कोभिसिल्ड पनि आइसक्ने मन्त्री श्रेष्ठले दाबी गरे ।

सरकारले पहिलो चरणमा कोभिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार नागरिकलाई जापान सरकारको अनुदानमा प्राप्त हुन लागेको अस्ट्राजेनेकाको खोप लगाउने योजना बनाएको छ । प्राप्त भएको तीन दिनभित्र ज्येष्ठ नागरिकलाई लगाइने उनले बताए । कोभिड नियन्त्रण र स्वास्थ्यको समस्या समाधानका लागि उनले कार्ययोजना समेत अघि सारेका छन् । कार्ययोजनामा खोपको प्रभावकारी रूपमा वितरण गर्ने, सहरको खोप केन्द्र थप गर्ने उल्लेख छ । । कान्तिपुर दैनिकले खबर छापेको छ ।