शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

लाखौंको चामल कुहाउने कर्मचारीलाई बचाउन खेलै खेल

दैनिक नेपाल २०७८ साउन १९ गते ७:००

काठमाडौं, १९ साउन । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ ।

कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ क्विन्टल बढीको ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल कुहिएको छ । ती कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनीका कर्मचारीले अनेक प्रयास गर्दै आएको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार गोदाममा कुहिएको लाखौं रुपैयाँबराबरको बास्मती चामल नष्ट गर्नुपर्दा चामल कुहाउने कर्मचारीले भर्पाइ गर्नुपर्ने भएकाले कर्मचारीलाई बचाउन कम्पनीले अनेक प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार कम्पनी कुहिएको सो बास्मती चामल ‘रि पोलिसिङ’ गरी राम्रो चामलमा मिसाएर काठमाडौंबाहिर पठाउने खेलमा लागेको जनाएको छ । कुहिएको चामललाई खानयोग्य छ भनी दाबी गर्न मनपरी चामलको नमुना लिएर परीक्षण गर्ने काम भइरहेको स्रोतको भनाइ छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्यको गोदाममा कुहिएको बास्मती चामल नमुना परीक्षण गरी यसअघि नै नष्ट निर्देशन दिइसकेको छ । विभागको निर्देशनलाई अटेर गर्दै लापर्बाही गर्न कर्मचारीलाई कारबाहीबाट बचाउन कम्पनी अनेक तिगडम गर्न लागेको स्रोतले जानकारी दिएको छ ।

कम्पनीले चामलको पोलिसिङ’ गरी बालकोटस्थित जेस्ट ल्याबोरेटरिज एन्ड रिसर्च सेन्टर प्रालिमा परीक्षण गरेर ल्याएको हो । खाद्य प्रविधि विभागले सो चामल विभागको अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रयोगशालामा १० वटा नमुना परीक्षण खानयोग्य नभएको पुष्टि गरिसकेको थियो । ३ मंसिर २०७६ मा राजधानी दैनिकमा ‘खाद्यका कर्मचारीको चरम लापर्बाहीका कारण गोदाममै कुहियो लाखौं मूल्यको चामल’ शीर्षकमा समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाहीका लागि छानबिन गरिरहेको थियो ।

अख्तियारले चामल छानबिन क्रममा विभागमा १० पुस २०७६ मा १० वटा नमुना जाँच परीक्षण गरेको थियो । छानबिनका लागि अख्तियारले विभागलाई परीक्षणका लागि दिएको १० वटा नै नमुना जाँच परीक्षण गर्दा सबै नमुना फेल भएका थिए । विभागले २८ माघ २०७६ मै गोदाममा रहेको ४ सय ८७ क्विन्टल २२ किलो चामल नष्ट गरी व्यवस्थापन गर्न निर्देशन दिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ दिई परिपत्र गरिसकेको थियो । राजधानी दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया
सम्बन्धित