शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

‘विवाद मिले एमालेमा, नमिले सरकारमा’

दैनिक नेपाल २०७८ साउन १८ गते ७:१४

काठमाडौं, १८ साउन । शेरबहादुर देउवा नेतृत्वको सरकारका सहभागी हुन सत्ता गठबन्धनले पटकपटक नेता नेपाललाई आग्रह गरेको छ। नेपालले विवाद मिले पार्टीमै रहने नत्र सरकारमा आउने सन्देश दिएका छन्। नेता नेपालले आइतबार प्रधानमन्त्री देउवालाई फोन गरेर मन्त्रिपरिषद् विस्तार रोक्न आग्रह गर्दै एमालेभित्रको विवाद मिल्ने अवस्थामा पुगेको र नमिले आफूहरू सरकारमा सहभागी हुने बताएका थिए। ‘आज एकदिन रोकिदिनुस्। हाम्रो विवाद मिल्ने अवस्थामा केन्द्रित छ । हेराैँ, मिल्यो भने सरकारमा आउँदैनौं’, नेपाललाई उद्धृत गर्दै स्रोतले भन्यो। देउवा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारीमा थिए । विवाद नमिले नेपाल पक्षका तीन नेता सरकारमा जान तयारी अवस्थामा रहेको स्रोतको दाबी छ। ओलीसँग असहमत नेताहरूले पनि देउवालाई भेटेर मन्त्री माग गरेको र उनीहरूले शनिबार साँझ नेपाललाई पनि भेटेर सरकारमा सहभागी हुन दबाब दिएका थिए।

पार्टी विवाद मिलाउन गृहकार्य भइरहेका बेला एमाले स्थायी कमिटी बैठकले महधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ।

बैठकले ३ असोजमा देशभरका वडामा अधिवेशन र ९ असोजमा स्थानीय तहमा अधिवेशन गर्ने प्रस्तावसहित कार्यतालिका सार्वजनिक गरेको हो। एमाले सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार यही प्रस्ताव पारित गर्न साउन २४ मा केन्द्रीय कमिटी बैठक बोलाइएको हो। ‘देशव्यापी रुपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्ने र असोज ९ गते पालिकास्तरको अधिवेशन गरिसक्ने तयारी छ। विधान अधिवेशनलगायतका विषय टुंगो लगाउन साउन २४ मा केन्द्रीय कमिटी बैठक बोलाइएको छ’, प्रवक्ता ज्ञवालीले भने। संगठित सदस्यता नवीकरण २७ साउनभित्र सक्ने निर्णय बैठकले गरेको छ।

बैठकले विधान महधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठानिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा पेस गर्नेछन्। बैठकले विधान महाधिवेशनको व्यवस्थापन जिम्मेवारी रामबहादुर थापालाई दिएको छ। बैठकपछि एमाले महासचिव पोखरेले पार्टीमा दोस्रो अध्यक्ष बनाउने व्यवस्था विधानमा ण्नभएकाले त्यसो गर्न उपयुक्त नहुने बताए। उनले प्राविधिवक रुपमा पार्टीमा दुई अध्यक्ष बनाए पनि विधानअनुसार नमिल्ने बताए। उनले पार्टी २ जेठ २०७५ को अवस्थामा फर्किएको बताए। नागरिक दैनिकमा टपेन्द्र कार्कीले समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित