शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

आइडिया नेपालले हस्तकला प्रवर्द्धनमा सघाउने

दैनिक नेपाल २०७८ साउन १७ गते २२:५२

काठमाडौं, १७ साउन । हस्तकलाको व्यावसायिक संरक्षण र प्रवर्द्धनका लागि नेपाल हस्तकला महासंघ र इन्टेरियर डिजाइनर्स एसोसिएसन अफ नेपाल (आइडिया नेपाल) बीच सझौता भएको छ ।

आज आइतबार महासंघमा आयोजित एक कार्यक्रमबीच महासंघ अध्यक्ष सुरेन्द्रभाइ शाक्य र आइडिया नेपालकी अध्यक्ष बिन्द्रा कक्षपति प्रधानले सझौतापत्रमा हस्ताक्षर गरेका छन् । सझौताअनुसार इन्टेरिएर डिजाइनिङका विद्यार्थीहरु बीच हस्तकला डिजाइनिङ प्रतियोगिता आयोजना हुने छ ।

उत्कृष्ट तीन प्रतियोगीलाई महासंघले इन्टेरिएर डिजाइनिङ अवार्ड प्रदान गर्ने महासंघका उपाध्यक्ष एवं हस्तकला वर्ष २०२१ का संयोजक रवीन्द्र शाक्यले जानकारी गराए । सझौतानुसार हस्तकलाको प्रवद्र्धनका लागि आइडिया नेपालले हस्तकलालाई पनि इन्टेरिएर डिजाइनमा समावेश गर्ने छ । जसका लागि एसियन पेन्ट्सले पनि सहकार्य गर्ने भएको छ ।

नेपाली हस्तकलालाई समयअनुसार परिमार्जन गर्दै जाने उद्देश्यका साथ हस्तकला वर्ष २०२१ को अवसरमा हस्तकलाको प्रवद्र्धनात्मक अभियानअनुसार नै दुबै संस्थाबीच सहकार्यका लागि सझौता भएको उपाध्यक्ष शाक्यले जानकारी गराए । महासंघका अनुसार विश्वव्यापी कोरोनाका कारण हस्तकला निर्यात प्रभावित भइरहेको सन्दर्भमा नेपाली हस्तकला बजारलाई चलायनमान बनाउने कार्यमा सघाउ पुर्याउने उद्देश्य रहेको छ ।

आठ लाखभन्दा बढीलाई रोजगारीका साथै निर्यात र आन्तरिक बजारसमेत गरी वार्षिकरुपमा झण्डै २० अर्ब रुपैयाँ बराबरको हस्तकला समाग्रीको कारोबार हुने गरेकोमा कोरोनाका कारण निर्यात र आन्तरिक बजार दुबै खस्किएको छ । निर्यात व्यापारको मेरुदण्डका रुपमा रहेको हस्तकलालाई पुनरजीवन महासंघले तीनवटै तहका सरकारसँगको सहकार्यमा जोड दिएको छ ।

कोरोनाका कारण कम्तिमा पनि आगामी एक वर्षसम्म नेपालमा बिदेशी पर्यटक आउने सम्भावना नरहेकोले हस्तकलाको आन्तरिक बजार विस्तार गर्न सरकारी निकायले पनि नेपाली हस्तकला समाग्रीको प्रयोगमा ल्याउनुपर्ने महासंघको माग रहेको छ । सरकारले इन्टेरिएर डिजाइनिङसँग हस्तकला समायोजन तालिम संचालनका लागि आवश्यक बजेट व्यवस्था गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित