३० आश्विन २०८३, शुक्रबार

‘जयसिंह भेलमा बगेपछि एसएसबीका सुरक्षाकर्मी भागे’

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दार्चुला, १७ साउन । कल्याणसिंह धामीले मालघाटमा यात्रु कुर्न थालेको २१ वर्ष भयो, उनको रोजीरोटी नै यही हो । सरकारले न पुल बनाएको छ, न सडक । त्यसैले आफ्नै सदरमुकाम जान पनि महाकाली तरेर पारि जानेका लागि कल्याणसिंह जस्ता स्थानीयले आफ्नै लगानीमा तुइन बनाएका हुन्छन् । हिउँदमा ५० र बर्खामा सय रुपैयाँ लिएर उनीहरू मान्छे पारि पठाउँछन् ।

दार्चुलाको व्यास–२ मालघाटमा शुक्रबार तुइनसँगै महाकालीमा खसेर जयसिंह धामी बेपत्ता भएपछि मुचुल्का गर्दै प्रहरी । वारि काठको खम्बा र पारि रूखमा बाँधेर २१ वर्षदेखि तुइन सञ्चालन हुँदै आएको थियो । हिउँदमा ५० र बर्खामा १०० रुपैयाँ तिरेर सर्वसाधारणले महाकाली तर्ने गरेका थिए । तस्बिर सौजन्य : हरकसिंह कार्की
शुक्रबार बिहान उनी मालघाट पुग्दा नपुग्दै यात्रुको लाइन लागिसकेको थियो । ८ बजेसम्म त उनले चार जनालाई पारि तारिसकेका थिए । लगत्तै स्थानीय जयसिंह धामी, विक्रम रङ्कली किनारमा पुगे । उनीहरू सदरमुकाम पुगेर बस चढी काठमाडौं र त्यहाँबाट विदेश जाने यात्रामा थिए । स्थानीय अनिता धामी पनि उनीहरूसँगै राजधानीसम्मको यात्रामा थिइन् ।

महाकाली तर्न जयसिंह तुइनमा झुन्डिए । त्यही बेला कल्याणसिंह झसंग भए । यताबाट जयसिंह तुइनमा सर्कंदै थिए, उता भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवान तुइनको लट्ठा फुस्काउँदै थिए । ‘उताबाट अचानक रूखको लट्ठा फुस्काउन थाले, हामीले होहल्ला गर्दागर्दै तुइन फुस्कियो, जयसिंह तारसहित खोलामा खसे र बेपत्ता भए,’ कल्याणसिंह भन्छन् ।

वारि काठको खम्बा र पारि रूखको हाँगामा लट्ठा बाँधिएको थियो । रूखमा बाँधिएको तुइन फुकाल्दा घटना भएको भन्नेमा कल्याणसिंह प्रस्ट छन् । जयसिंहले तुइनमा चढ्ने तयारी गर्दागर्दै पारिपट्टि तुइन बाँधेको ठाउँनजिकै एसएसबीका एक जवान देखिए पनि वारिपट्टि शंका भइसकेको थियो । किनकि यस्ता तुइन बेलाबेलामा एसएसबीले काट्दै आएको थियो । ‘तर, मान्छे नै झुन्डिएका बेला तुइन काट्ला भनेर सोच्नै सकिएन, त्यही भूल भयो,’ कल्याणसिंह भन्छन्, ‘एसएसबीका मान्छे रूखसम्म पुगुञ्जेल तरिसक्छु भनेर जयसिंहले तुइन सर्काउन थाले, उनी फटाफट पारि पनि पुगिसकेका थिए, तीन–चार मिटर मात्र बाँकी रहँदा तुइनसहित जयसिंह महाकालीमा पछारिए ।’

कल्याणसिंह शुक्रबारको घटनापछि स्तब्ध छन् । एसएसबीका सुरक्षाकर्मीले तुइन खोल्न थालेपछि वारिबाट होहल्ला गरेको उनी बताउँछन् । ‘तुइन फुकाउन लागेको देखेपछि हामीले मान्छे छ, मान्छे छ भनेर करायौं तर नदीको आवाजले नसुनिने हुँदा हातले इसारा पनि गर्‍यौं । तर, उनीहरूले वास्तै गरेनन्,’ कल्याणसिंह भन्छन् । डोरी फुस्किएर जयसिंह नदीमा खस्नेबित्तिकै एसएसबीका सुरक्षाकर्मी घाटबाट माथि सडकतिर भागेको उनले सुनाए । ‘मान्छे खस्नासाथ उनीहरू पनि भागेर माथि सडकतिर गए । हामी त वारि नै भयौं, जयसिंह बगेको हेरिरहन बाध्य भयौं । केहीबेरसम्म टाउको देखिएको थियो तर एकैछिनमा गायब भइहाले,’ उनी भन्छन् । मनोज बडूले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।