शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बीपी प्रतिष्ठानमा मेडिकल उपकरण खरिदमा २८ गुणासम्म बढी भुक्तानी

दैनिक नेपाल २०७८ साउन १४ गते ७:०९

काठमाडौं, १४ साउन । सरकारी संस्थामा भ्रष्टाचार हुन्छ भन्ने आम बुझाइ छ । तर, कुन हदसम्म ? धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकरण खरिदमा दुई–तीन गुणा होइन, २८ गुणासम्म बढी खर्च भएको पुष्टि भएको छ । मुटुसम्बन्धी समस्या भएका बिरामीको उपचारमा प्रयोग हुने ‘इन्ट्रा एओर्टिक बेलुन पम्प’ खरिदमा चरम भ्रष्टाचार भएको छ ।

मुटु उपचारमा प्रयोग हुने क्याथल्याब, जसलाई बीपी प्रतिष्ठानले अन्य अस्पतालभन्दा २ करोड बढी मूल्यमा किनेको छ । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रले यो पम्प २ लाख २१ हजार ३ सय ३८ रुपैयाँमा खरिद गरेको थियो । तर, बीपी प्रतिष्ठानले यही पम्प खरिदमा ६२ लाख ८ हजार ९ सय ७६ रुपैयाँ खर्च गरेको प्रतिवेदनले प्रस्ट पारेको छ ।

रगत रोक्ने कौटरी मेसिन खरिद गर्दा गंगालाल हृदय रोग केन्द्रले ५ लाख ६३ हजार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ६ लाख ३५ हजार र वीर अस्पतालले ७ लाख २५ हजार भुक्तान गरेका छन् । तर, यही मेसिन खरिदमा बीपी प्रतिष्ठानले १ करोड २१ लाख ५९ हजार ७६ रुपैयाँ खर्च गरेको सरकारी प्रतिवेदनले देखाएको छ । यो मूल्य गंगालाल केन्द्रको भन्दा २१ गुणा बढी हो । बीपीको अनियमितता छानबिन गर्न सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका तत्कालीन सचिव केदारबहादुर अधिकारी संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले आर्थिक वर्ष २०७१/७२ देखि २०७५/७६ सम्म खरिद गरिएका सामग्रीको मूल्य अध्ययन गरेको थियो । भ्रष्टाचारका अनेक प्रमाणसहित कार्यदलले प्रतिवेदन दिएको दुई वर्ष भए पनि कारबाही भएको छैन । त्यसअघि र पछि प्रतिष्ठानमा भएका अनेक भ्रष्टाचारका दोषीलाई कारबाही गर्न तथा उपकरण र जनशक्तिको सदुपयोग गर्न माग गर्दै बीपीमा पछिल्लो डेढ महिनादेखि आन्दोलन चलिरहेको छ । तर, सरकारले माग सम्बोधन गरेको छैन ।

कार्यदलले नेपाल सरकार मातहतका बीपी प्रतिष्ठान, सहिद गंगालाल हृदय रोग उपचार केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल र धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले खरिद गरेका सामानको तुलनात्मक अध्ययन गरेको थियो । प्रदीप मेन्याङ्बोले कान्तिपुर दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित