शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा लगानी गर्न त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर

दैनिक नेपाल २०७८ साउन ११ गते १४:०७

काठमाडौं, ११ साउन । दोलखामा निर्माण हुने ९९.८ मेगावाटको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा ऋण लगानीका लागि त्रिपक्षीय समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा आइतबार नेपाल विद्युत् प्राधिकरण, आयोजनाको प्रवर्द्धक तामाकोशी जलविद्युत् कम्पनी र कर्मचारी सञ्चय कोषबीच एमओयूमा हस्ताक्षर भएको हो ।

एमओयूमा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नसिवमान प्रधान र कोषका प्रशासक तुलसीप्रसाद गौतमले पनि हस्ताक्षर गरेका छन् ।

करिब १६ अर्ब १९ करोड रुपैयाँ (१३ करोड ७२ लाख अमेरिकी डलर) अनुमानित लागत रहेको आयोजनामा कोषले ७० प्रतिशत (करिब ११ अर्ब ३३ करोड) रुपैयाँ ऋण लगानी गर्ने छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत निर्माण हुन लागेको आयोजनाको बाँकी रकम सर्वसाधारणलाई समेत सेयर निष्कासन गरी स्वपूँजी (इक्विटी)बाट जुटाइने छ ।

तामाकोशी पाँचौँ ४५६ मेगावाटको मेगावाटको माथिल्लो तामाकोशीको क्यास्केड आयोजना हो । त्यसैले तामाकोशी पाँचौँले बाँध, बालुवा थिगार्ने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनु नपर्ने भएकाले आयोजनालाई आकर्षक मानिएको छ ।

माथिल्लो तामाकोशीको विद्युत् गृहबाट निक्लिएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान भइसकेको छ । आयोजनाले ८ किलोमिटर सुरुङ, विद्युतगृह, करिब दुई किलोमिटर २२० केभी प्रसारण लाइनलगायतका मुख्य संरचना निर्माण गर्नु पर्ने छ ।

विस्तृत डिजाइन र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भइसकेको आयोजनाले विद्युत उत्पादनको अनुमति २०७४ को जेठमै पाइसकेको छ । चीनको अगुवाइमा स्थापना भएको एसियन इन्फ्रास्ट्रक्चर लगानी बैंक (एआईआईबी)को अनुदानमा आयोजनाको थप वातावरणीय अध्ययन गरिएको छ ।

आयोजनाको अहिले निर्माण पूर्वका कामहरु भइरहेका छन् । आयोजनाको निर्माण २०८४ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित