
काठमाडौं, ९ साउन । नेकपा एमालेकी नेतृ एवम् राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले केपी ओलीमाथि हमला गरेर नेकपा एमाले पार्टीलाई नै ध्वस्त बनाउँछु भन्ने सपना नदेख्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चेतावनी दिएकी छिन् ।
हिजो बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न प्रचण्डले नेकपा एमालेभित्र विभाजनको खेल खेलिरहेको आरोप लगाउँदै त्यस्तो चेतावनी दिएकी हुन् । ‘हाम्रो पार्टी विभाजन गर्न उहाँले कसलाई उकास्नुभएको छ दुनियाँका सामु छर्लङ्ग छ,’ नेतृ न्यौपानेले प्रचण्डलाई लक्षित गर्दै भनिन्, ‘यो घृणित खेल बन्द गर्नुहोस् र जनताको प्रिय नेता बन्नुहोस् । म यही प्रकारको खेलले अब्बल बनेको छु । सरकार ढलाउन सक्छु, सरकार बनाउन सक्छु भन्ने मान्यता नराख्नोस् ।’
नेकपा एमाले विभाजन गरेर प्रचण्डले आफूलाई अब्बल राजनीतिज्ञ भएको सावित गर्न खोजेको भन्दै न्यौपानेले भनिन्, ‘केपी ओलीको सरकार गिराएर अर्को सरकार बनाइसकेपछि पनि एमाले र केपी ओलीमाथि जुन खालको हमला गरिएको छ त्यसले कसैलाई पनि फाइदा गर्नेवाला छैन ।’
‘हामीलाई थाहा छ अब एमालेको सङ्गठन र पार्टी अध्यक्ष केपी ओली जनताको बीचमा पुग्नुहुने छ । त्यसैले केपी ओलीमाथि हमला गरिराख्नुपर्छ, एमालेमाथि हमला गरिराख्नुपर्छ, यो मान्यता राखिएको छ,’ उनले भनिन्, ‘एमालेलाई सक्छु भन्ने मान्यता यदि कसैले राखेको छ भने आज दुबोझैं मौलाउँदै गरेको एमालेको सङ्गठनलाई समाप्त पार्छु, ध्वस्त पार्छु भन्ने मानसिकता कसैले राखेको छ भने त्यो दिवा सपना हुन्छ ।’
प्रचण्ड अस्थिर नेता भएकाले मुलुकलाई समेत अस्थिरतातर्फ धकेल्न खोजेको नेतृ न्यौपानेको आरोप छ । कहिले केपी ओली, कहिले शेरबहादुर देउवा र फेरि केपी ओलीकै गुणगान गाएर आफ्नो र परिवारको राजनीतिक जीवन जोगाइराखेका प्रचण्डले आफू अनुकुल नहुँदा जस्तोसुकै कदम चाल्ने उनको भनाई ।















प्रतिक्रिया