८ कार्तिक २०८३, आइतबार

काठमाडौं महानगरले थाल्यो आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ साउन । देशको राजधानीलाई पानी सङ्कटमुक्त पारी पर्याप्त पानी उपलब्ध गराउन काठमाडौं महानगरपालिकाले आकाशे पानी सङ्कलन र पानी पुनर्भरण अभियान सञ्चालन गरेको छ ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा उपलब्ध ज्ञान, शीप, प्रविधि र अनुभवलाई उपयोगमा ल्याएर नेपालीहरूलाई सहज रूपमा स्वच्छ पानी उपलब्ध गराउने उद्देश्यले स्थापित स्मार्ट वास सोलुसन्सले हालै आयोजना गरेको वर्षातको पानी सङ्कलनका मुद्दा, चुनौती र आगामी मार्ग विषयक वेबिनारमा काठमाडौं नगर आयोगका सहविज्ञ जयश्री राजभण्डारीले सो जानकारी दिइन् ।

उनले राजधानीमा मेलम्चीको पानीले पनि यहाँको माग नधान्ने बताउँदै भनिन्, ‘अहिले नै काठमाडौंमा खानेपानीको माग दैनिक ४५ करोड लिटर जति छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आउदा पनि दैनिक २८ करोड लिटर पानी कमी हुन जान्छ । यसको आपूर्तिको लागि वैकल्पिक स्रोत खोज्नै पर्दछ ।’ उनले काठमाडौं उपत्यकामा साना ठूला खोला र नदीहरू प्रशस्त रहेको र परम्परागत पानीको स्रोत मानिएका ढुङ्गेधारा, कुवा, इनारका साथै भूमिगत पानीको उपयोगबाट त्यस्तो अभाव पूर्ति गर्नुपर्ने अवस्था रहेकोले वर्षातको पानीको उपयोग गर्ने अभियान थालेको बताइन् ।

उनले पानीको वर्तमान तथा भावि सङ्कटलाई दृष्टिगत गरेर महानगरले २०७६/७७ देखि काठमाडौं पुनर्भरण अभियान शुरू गरेको पनि जानकारी दिइन् । यस अभियान अन्तरगत गोंगबु रानीबारी पुनर्भरण आयोजना सम्पन्न भइसकेको छ भने स्वयम्भू भुईखेलको पोखरी पुनर्स्थापना गरिएको छ । त्यस्तै राजधानीको मध्यभागमा रहेका कमलपोखरी मर्मत र पुनर्स्थापनाको काम हुँदैछ भने रानी पोखरी मर्मत पूरा भएको छ । नारायणहिटीको दक्षिणमा रहेको हिटी पोखरी र पूर्वतर्फरहेको नक्सालको नागपोखरी पनि संरक्षण थालिएको छ ।

यो पुनर्भरण आयोजना अन्तरगत कमल पोखरीलाई बर्षातको भलबाढीको पानीलाई छानेर पोखरीमा जम्मा गर्ने विधि अपनाइएको छ ।

महानगरपालिकाले पानी पुनर्भरण अवधारणा अवलम्बन गरी कमलपोखरी, बाँसबारी इको पार्क, बागमती नगरपार्क, धान्यो चित्तपार्क, कुलेश्वर बुद्ध विहार, लगन पार्क, शान्ति नमूना पार्क र टुँडालदेवी पार्कको विकास र संरक्षणको कार्य थालेको पनि उनले बताइन् ।

महानगरपालिकाले नन्दी रात्री विद्यालय र वडा नं ५ मा आकाशे पानी सङ्कलन प्रणाली उपयोगमा ल्याइसकेको छ । महानगरले पानी पुनर्भरणका कार्यक्रम सञ्चालन गर्न पुराना ढुङ्गेधाराहरूको स्थान अवलोकन, मर्मत सम्भारको कार्य पनि थालेको छ । महानगरभित्र रहेका १५६ यस्ता धाराहरूमध्ये ५७ मासिएका र ९९ वटा भेटिएका छन् । भेटिएका मध्ये ४ वटामा पाइपको पानी पठाएर र १४ वटामा पानी ट्यांकी राखेर सञ्चालनमा ल्याइएको छ ।

महानगरले खानेपानीको स्रोत संरक्षणको लागि पुनर्भरण इनारको स्थापना, पानी बगैचा (वाटर गार्डेन) र जमिनको भित्री तहमा पानी पठाउन पाइप प्रणालीको उपयोग गर्दै आएको छ ।

चेन्नाईको अनुभव

कार्यक्रममा भारतको तामिलनाडुको चेन्नईको वर्ष केन्द्र (रेन सेन्टर)का डा. शेखर राघवनले बर्षातको पानीलाई घरको छतमार्फत संकलन गर्ने र सतहमा परेपछि बग्ने क्षेत्रमा समुचित प्रविधिको माध्यमबाट सङ्कलन गरी तात्कालिक र दीर्घकालीन आवश्यकता आपूर्ति गर्न सकिने बताए ।

उनले वर्षाको पानीलाई ताजा पानीको स्रोत बताउँदै वर्षमा दुईदेखि तीन महिना पर्ने पानीको सङ्कलन र भण्डारणबाट बाँकी ९ देखि १० महिनाको आवश्यकता पूरा गर्न सकिने बताए ।

पानीको पहिलो दर्कोले धुलो मैलो पखाल्ने भएकाले त्यस्तो पानीलाई ड्रेनपाइपको अर्कोतिर सङ्कलन हुनेगरी पछि परेको पानी त्यसमाथिबाट समानान्तर पाइपबाट ट्यांकीमा जान मिल्ने गरी सङ्कलन गर्न सकिने बताए । समुचित तरिकाले पानी सङ्कलन गर्दा दैनिक उपयोगमा आउने एउटै इनारमा वर्षाको पानी सीधै खसालेर उपयोग गर्न पनि सकिने उनले बताए ।

उनले सार्वजनिक ठाँउहरुमा बर्षातमा परेको पानी जम्मा गरेर पुनर्भरण गर्ने इनार खनेर शहरहरुलाई भूमिगत पानी तानेर हुने सुख्खापनबाट जोगाउन सकिने बताउनुभयो । उहाँले यसका लागि इनार, पोखरी, वाटर गार्डेन र पाइप रिचार्ज प्रणालीको स्थापना उपयुक्त हुने बताए ।

उनले चेन्नाईमा भवन निर्माणका लागि बर्षातको पानी संकलनको प्रावधान अनिवार्य गरिएको भए पनि प्रोत्साहनको रुपमा कुनै अनुदान नदिएको बताए । अनुदानले भ्रष्टाचार निम्त्याउने उहाँको कथन थियो ।

विद्यालय र अस्पतालमा अपरिहार्य

कार्यक्रममा स्मार्ट पानीका अनिशा कर्णले नेपालमा वर्षातको समयमा पर्याप्त पानी पर्ने भएकाले सो पानी सङ्कलन गरेर हिउँदको सुख्खा याममा उपयोग गर्न सकिने प्रशस्त ससम्भावना रहेको बताए ।

उनले नेपालका २९ जिल्लाहरुमा आफ्नो संस्थाले आकाशे पानीको सङ्कलन, प्रशोधन र उपयोगिताको कार्यक्रम सञ्चालन गरेको पनि बताए । खासगरी सार्वजनिक विद्यालय र अस्पतालहरुमा वर्षाको पानी सङ्कलन र उपयोग अपरिहार्य रहेकोले सरकारी स्तरमा ती संस्थामा यसलाई प्रोत्साहित गर्नुपर्ने उनले बताए ।