
काठमाडौँ, ७ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विगत केही दिनदेखि कोरोनाभाइरसको संक्रमण दर बढ्दो क्रममा रहेको जनाएको छ ।
मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दै विगत एक हप्तादेखि संक्रमण दर बढ्दै गइरहेको जनाएको हो ।
मन्त्रालयले अहिले १० जिल्ला झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० जना भन्दा बढी सक्रिय संक्रमितहरु रहेको जनाएको छ ।
त्यस्तै, २६ जिल्लामा २०० जना भन्दा सक्रिय संक्रमितहरु रहेका छन् ।
मन्त्रालयले कोरोनाविरुद्धको लडाई एक्लै लड्ने नभइ सबैको सहकार्य र समन्वय आवश्यक रहेको समेत जनाएको छ ।
निषेधाज्ञा खुकुलो भए पनि संक्रमण नघटेकाले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।
त्यस्तै, मन्त्रालयले आम नागरिकलाई आफ्नो पालोमा कोरोनाविरुद्धको खोप लगाउन समेत आग्रह गरेको छ ।
त्यसैगरी कोरोनाको तेस्रो लहरको संक्रमण आउनसक्ने तर्फ मध्यनजर गर्दै स्वास्थ्य संस्थालाई तयारीमा रहन पनि मन्त्रालयले अपील गरेको छ ।













प्रतिक्रिया