बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

मुस्ताङमा ट्रयाक्टरबाट खोप ढुवानी

दैनिक नेपाल २०७८ साउन ७ गते ८:१३

मुस्ताङ, ७ साउन । वर्षासँगै खोला र खहेरमा बाढी आउन थालेपछि हिमालपारिको जिल्ला मुस्ताङमा कोरोनाभाइरसविरुद्धको खोप ढुवानीमा समस्या भएको छ । बाढीका कारण साना सवारीको आवागमन नै रोकिएपछि ट्र्याक्टरमा खोप ढुवानी गरिएको छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिकाले ट्र्याक्टरमा भेरोसेल खोप ढुवानी गरेर ज्येष्ठ नागरिकलाई दोस्रो डोज लगाएको छ । २९ असारमा सदरमुकाम जोमसोमबाट लोमान्थाङ भेरोसेल खोप ढुवानी गर्दा कागबेनी नजिकै पाण्डाखोलामा बाढी आएको थियो ।

लोमान्थाङबाट जोमसोमका लागि पठाइएको एम्बुलेन्स कागबेनी नजिकै रहेको माण्डा खोलामा रोकिएपछि ट्र्याक्टरमा ढुवानी गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले बताए ।

कोरोना भाइरसविरुद्धको खोप सुरक्षाका लागि लोमान्थाङ गाउँपालिकाका स्वास्थ्य संयोजक तेन्जिङ नोर्बु गुरुङ ट्र्याक्टरमै गएका थिए ।

खोलामा पुल नरहेको र वर्षा भइरहेकाले बाढी आउँदा साना सवारी आवतजावतमा अवरुद्ध हुँदै आएको छ । यसअघि पनि मुस्ताङमा खोला बढेका कारण खोप तार्न कठिन भएपछि काठको सहायताले स्वास्थ्यकर्मीले खोप वारपार बनाएको तस्बिर भाइरल भएको थियो ।

देशभर खोप अभियान चलिरहेका बेला ढुवानीको समस्याका कारण मुस्ताङमा तोकिएको दिनभन्दा एक दुईदिन तलमाथि पारेर खोप अभियान सञ्चालन हुने गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित