८ कार्तिक २०८३, आइतबार

वैदेशिक रोजगारीबाट फर्किएका युवाहरू काठमाडौंमै लुटिए

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

काठमाडौं, ५ साउन । वैदेशिक रोजगारीबाट फर्किएका केही युवा सोमबार राति काठमाडौंको चावहिल र ज्ञानेश्वर क्षेत्रबाट लुटिएका छन् ।

प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार काठमाडौंको मित्रपार्कस्थित मानसरोबर होटेलमा बास बस्न गएका दुईजना र भाइ नाता पर्ने युवकको मोटरसाइकलमा कालिकास्थानतर्फ जाँदै गरेका अर्का एक युवा ज्ञानेश्वरमा लुटिएका हुन् ।

प्राप्त जानकारी अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर बास बस्नका लागि बा. २ ज ३५९० नम्बरको ट्याक्सीमा जाँदै गरेका झापाका ४१ वर्षीय मात्रिका चौलागाई र नवलपरासीका ३० वर्षीय बिजय पुलामी मगरको ५०/५० ग्रामको १/१ थान सुनको बाला सोमबार राति लुटपाट भएको हो ।

कतारबाट फर्किएका उनीहरू बास बस्ने भनिएको होटेलअगाडि पुगेपछि हाल अल्फाबेट नखुलेको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तहरुले सुनको बिल चेक गर्नुपर्यो भन्दै बाला लुटपाट गरी फरार भएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले सोही ट्याक्सीका चालकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ भने लुटपाटमा प्रत्यक्ष संलग्न व्यक्तिहरू भने फरार रहेको बताइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका–२८ ज्ञानेश्वरस्थित सडकमा पनि वैदेशिक रोजगारीबाट फर्किएका झापाका ३४ वर्षीय गणेश नेपालको ५० ग्रामको १ थान सुनको बाला सोमबार राति लुटपाट भएको छ ।

भाइ नाता पर्नेसँग बा. ९२ प. ३७१८ नम्बरको मोटरसाइकलमा डिल्लीबजार कालीकास्थानतर्फ आउने क्रममा हाल नम्बर नखुलेको मोटरसाइकलमा आएका अर्का दुई जना अपरिचित व्यक्तिहरुले उक्त सुनको बाला लुटपाट गरी फरार भएको बताइएको छ ।

लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले लुटपाटमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नाका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धानभइरहेको बताएको छ ।