
काठमाडौं, ५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ ।
ओली निवास बालकोटमा आज मंगलबार बिहान भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यान्वयन र पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।
केपी ओलीलाई भेट्न महासचिव चन्दको साथमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायत नेता पनि बालकोट पुगेका थिए । ओली नेतृत्वको अघिल्लो सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपा सहमति कार्यान्वयनका लागि शीर्ष नेताहरूसँगको छलफललाई तीव्रता दिँदै आएको छ ।
यसअघि विप्लवले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेतासँग पनि भेटवार्ता गरिसकेका छन् ।















प्रतिक्रिया