
काठमाडौँ, ३ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकतामा इच्छुक नरहेको देखिएको बताएका छन् ।
नेपालले आफू एक्लै परे पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेको भन्दै ज्ञवालीले पार्टीलाई एकतावद्ध बनाएर अघि लैजाने कुरामा नेपाल इच्छुक नभएको देखिएको बताए ।
आइतबार नेता नेपाललाई ज्ञवालीले भेट्दा नेपालले आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने बताएको जनाए ।
यस्तो छ नेता नेपालसँग ज्ञवालीको कुराकानी
नेकपा एमाले स्थायी कमिटीको बैठकमा हामीले विशेष गरी आज भर्खरै मात्र थाहा शेरबहादुर देउवाले आजै विश्वासको मत लिने कार्यसूची राखेको थाहा पायौँ र यसैमा केन्द्रित भएर छलफल ग¥यौं । सदनको पहिलो बैठकमै विश्वासको मत लिने गरेर जसरी घोषणा भयो, यसले विभिन्न प्रश्नहरू उठायो ।
हामीले अस्तिको बैठकबाटै विश्वासको मतको विपक्षमा मतदान गर्छौँ भनेर निर्णय गरिसकेका छौँ । यही कुरा हामीले पार्टीका सबै सांसदहरू र सम्भव भएसम्म अन्य दलसँग पनि आग्रह गरेका छौँ । यही क्रममा हामीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटघाट गरेका छौँ ।
दश बुँदे सहमतिलाई कार्यान्वयन गरेर पार्टी एकता गर्ने प्रयास निरन्तर छ । तर, माधवकुमार नेपालले आफूले एक्लै भए पनि वा एउटा बिन्दुमा पुगिसकेको हुनाले आफूले विश्वासको पक्षमा मत हाल्ने बताउनुभयो ।
उहाँका तर्फबाट विगतमा कार्यदलमा रहेका साथीहरूले संस्थागत निर्णय गर्नुपर्ने र यसरी व्यक्तिगत निर्णय गर्नु उचित हुँदैन भनेर प्रश्न राख्दा, उहाँले आफू अल्पमतमा रहेको कमिटीमा गएर त्यसको निर्णयलाई मान्न नमिल्ने जवाफ फर्काउनुभयो । यसको तात्पर्य उहाँ पार्टीलाई एकताबद्ध बनाएर अघि लैजाने कुरामा इच्छुक हुनुहुन्न भन्ने देखियो ।
जनादेशबाट नभएर फरक विधि र प्रक्रियाबाट आएको हुनाले सरकारप्रति हाम्रो समर्थन हुँदैन । धेरै कुरा मतदानपछि छलफल हुन्छ । माधव नेपाल पार्टीमा नफर्कने निश्चित भएको हो ? यो उहाँहरूले नै भन्नु राम्रो होला । तर, आजको बैठकपछि बेग्लै कोर्समा हिँड्न चाहनुभएको प्रस्टै देखियो ।
तर, उहाँकै टिममा रहेका साथीहरूले त्यसरी जानु उचित हुँदैन भनेर फर्काउन खोजिरहनुभएको छ । उहाँहरूले हामीले कार्यदलमा रहँदा हस्ताक्षर फिर्ता नलिने र गठबन्धनका विषयमा अडान लिएकै हौँ । तर, १० बुँदे भइसकेपछि अब संस्थागत निर्णय बेगर जान मिल्दैन, त्यस कारण शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आन्दोलनलाई उनको सेवामा अर्पित गर्नका लागि हिजो हाम्रो सहमति भएको होइन, यो कुरामा जान सकिँदैन भन्नुभएको छ । उहाँहरूले प्रयास गरिरहनुभएको छ । उहाँहरूको प्रयासले काम गर्याे भने बेग्लै कुरा, नत्र माधव नेपाल एउटा निष्कर्षमा पुगिसक्नुभयो ।
नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गएर, आफ्नै पार्टी नेतृत्वको सरकारलाई ढलाएर बनेको प्रधानमन्त्रीको पक्षमा विश्वासको मत हालिसकेपछि ती साथीहरू पार्टीमा रहनुहुन्न, यो प्रस्टै भयो । पार्टीले आफ्नो निर्णय गर्छ । पार्टीको निर्णयको पालना गर्नु नेता–कार्यकर्ताको कर्तव्य हो । त्यसको अवज्ञा भयो भने पार्टीले कारबाही गर्छ ।
हामी आज बैठकमा कार्यदलका ९ जना थियौँ । सबैको एकमत संस्थागत निर्णय गरौँ, एक्लै देउवालाई समर्थन गर्न सक्दैनौँ भन्नुभयो । कार्यदलमा पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्छ र संवेदनशील विषयहरू स्वीकार्य हुन सक्दैन भन्ने भयो ।












प्रतिक्रिया