दाङ, २९ असार । दाङको घोराही सिमेन्टले अर्कै उद्योगको स्वमित्वमा रहेको चुनढुंगा चोरी गरिरहेको तथ्य खुलेको छ ।
घोराही उपमहानगरपालिका–४ मा सञ्चालित पुरुषोत्तमलाल संघाईको घोराही सिमेन्ट उद्योगले लामो समयदेखि रोल्पा सिमेन्ट उद्योगको स्वामित्वमा रहेको चुनढुंगा बाटो बनाउने नाममा खानीबाट कच्चा पदार्थ उत्खनन् गरी अवैध रूपमा चोरी निकासी गर्दै आएको हो ।
घोराही सिमेन्टले चोरी गर्न बाटो बनाउने वाहनामा रोल्पा सिमेन्टको चुनाढुंगा उत्खनन् गरेर लगिरहेको स्थानीय वासिन्दा बताउँछन् । घोराहीले दैनिक सयौँ टिपरले चुनढुंगा ओसारिरहेको छ ।
अहिलेसम्म झण्डै नौ हजार टिपर चुनढुंगा रोल्पाको खानीबाट घोराहीले चोरी गरेको खुलेको छ । चोरेको कच्चा पदार्थबाट उद्योगले सगरमाथा र सगरमाथा गोल्डको नाममा अहिले बजारमा सिमेन्ट बेचिरहेको छ ।

उद्योगले उत्पादन गरेको सिमेन्ट गुणस्तरहीन भएको र वातावरणीय प्रभाव न्यूनीकरणका लागि समेत काम नगरेको ठहर गर्दै यसअघि पनि पटक–पटक कारबाहीको निर्णय भएको थियो । तर पनि संघाईले अर्कैको स्वामित्वमा रहेको कच्चा पदार्थ चोर्न छोडेका छैनन् ।
उद्योगका सञ्चालक पुरूषोत्तमलाल संघार्इले त्यस क्षेत्रका माओवादी नेता, स्थानीय प्रशासन र खानी विभागलाई प्रभावमा पारी गलत कामलाई निरन्तरता दिइरहेका हुन् ।
घोराहीले रोल्पा सिमेन्टको सामग्री चोरीका लागि रोल्पा चुनढुंगा उद्योग भनेर अर्को खानी दर्ता समेत गरेको छ । रोल्पा सिमेन्ट र रोल्पा चुनढुंगा उद्योग उस्तै भएपछि प्रशासनलाई झुक्याउन सजिलो हुने भएकाले त्यसो गरिएको बुझिएको छ ।
चुनढुंगा चोरीमा जिल्ला प्रशासन कार्यालयले समेत विवादित उद्योगपति संघाईको संरक्षण गर्दै आएको छ । चोरी कार्यमा संलग्न संघाईलाई बलियो राजनीतिक संरक्षण भएको बताइन्छ ।
चनुढुंगाको चोरीमा घोराहीले प्रेम प्रकाश पुनको स्वामित्वमा रहेको पुन कन्स्ट्रक्सन प्रालिको प्रयोग गर्दै आएको छ । संघाईले जिल्ला प्रशासन कार्यालय रोल्पा, दाङ र सल्यानलाई मिलाएको बताइएको छ ।
ती कार्यालयले प्रभाविता र अन्य उद्योगीको गुनासो सुन्ने भन्दा पनि संघाइको पक्षमा काम गर्ने गरेका छन् । अझ संघाईले खानी विभाग त आफ्नो मुठीमै रहेको भन्दै अन्यलाई धम्की समेत दिने गरेको बताइएको छ ।
घोराही सिमेन्टको चोरी रोक्नका लागि रोल्पाको त्रिवेणी गाउँपालिकाले पटक–पटक पत्र लेखेर चेतावनी दिए पनि त्यसको पटक–पटक उल्लंघन गर्दै आएको छ । घोराहीले करोडौँ राजस्व समेत छली गर्दै आएको छ । तर, उसले राजनीतिक र पैसाको प्रभावमा आफ्नो कर्तुत छोप्दै आएको छ ।
पटक–पटकको चेतावनी र लिखित आग्रहलाई नटेरेपछि यही असार २३ गते खानी विभागले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र त्रिवेणी गाउँपालिकालाई पत्र लेखी भइरहेको काम रोक्न आदेश दिएको छ ।















प्रतिक्रिया