
काठमाडौं, २९ असार । आजदेखि ७७ वटै जिल्लामा पुनः खोप अभियान शुरू भएको छ ।
स्वास्थ्य सेवा विभागले आजदेखि खोप अभियान शुरू गगरेको जनाएको छ । विभागका अनुसार चीनबाट खरीद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइने छ ।
त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउने छन् । उता, अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जोनसन एण्ड जोनसन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ ।
त्यसैगरी यो खोप पूर्ण र अति अशक्तता भएका नागरिकहरू, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू, स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि पाउने भएका छन् ।
नेपाल सरकारले चीनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप ल्याएको थियो । त्यस्तै आइतबार मात्रै अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो ।
जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्ने छ ।
















प्रतिक्रिया